काठमाडौं ।इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै पहिलो पटक फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ।
निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।
इजिप्टले पहिलो हाफमा इमाम असौरको गोलमार्फत अग्रता लिएको थियो। तर दोस्रो हाफको ५४औँ मिनेटमा मोहम्मद हेनीबाट आत्मघाती गोल भएपछि अस्ट्रेलियाले खेल १–१ को बराबरीमा ल्याएको थियो।
त्यसपछि अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा इजिप्टका मोहम्मद सबिर, रेमी रबिया, मोहम्मद सलाह र होसम अब्देलगुदले गोल गरे। अस्ट्रेलियाका ह्यारी सुतार र हेरिंगटन भने पेनाल्टीमा गोल गर्न असफल रहे।
यस जितसँगै इजिप्टले विश्वकपको इतिहासमै पहिलो पटक अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब इजिप्टले क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिना र केप भर्डेमध्ये विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ।






