हर्मुजमार्फत तेल आपूर्ति बढेपछि कच्चा पेट्रोलियमको मूल्य पाँच महिनायताकै न्यून

काठमाडौं — अमेरिका र इरानबीच जारी अप्रत्यक्ष वार्तामा प्रगतिको संकेत देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

हर्मुज जलडमरूमध्यमार्फत हुने कच्चा तेलको ढुवानी बढेपछि बिहीबार यसको मूल्य प्रतिव्यारेल ६८ अमेरिकी डलरभन्दा तल झरेको हो। यो मूल्य फागुनयताकै सबैभन्दा न्यून स्तरमा पुगेको बताइएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी सैन्य सहयोगका कारण हर्मुज जलडमरूमध्यमार्फत दैनिक एक करोड ब्यारेलभन्दा बढी कच्चा तेल ढुवानी भइरहेको छ।

संयुक्त अरब इमिरेट्सले पनि वैकल्पिक मार्ग प्रयोग गर्दै आफ्नो कच्चा तेल निर्यातलाई युद्धअघिकै स्तरमा पुर्‍याएको जनाएको छ।

यसैबीच, अमेरिकी नौसैनिक अवरोध हटाइएपछि इरानको कच्चा तेल निर्यात चार करोड ब्यारेल नाघेको बताइएको छ।

रुसबाट अभिलेखस्तरको तेल ढुवानी भएपछि समुद्री मार्गमा सञ्चित भण्डारसमेत उल्लेखनीय रूपमा बढेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन्।

कतारले वार्ताको अर्को चरण सकेसम्म चाँडै आयोजना गरिने जनाएको छ।

यद्यपि, इरानले हर्मुज जलडमरूमध्यमाथिको प्रशासनिक नियन्त्रण आफ्नो हातमै रहने अडान दोहोर्‍याएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *