काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने मानिस नभएको बताएका छन्।
गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएको बालकोटस्थित निवासको बुधबार अवलोकन गर्ने क्रममा ओलीले आफूहरू विगतमा पनि नभागेको र भविष्यमा पनि देश छाडेर नभाग्ने बताएका हुन्।
आफूहरू नेपाली मूलका नागरिक भएको उल्लेख गर्दै ओलीले देशमा आफ्नो उपस्थिति अरू कसैले स्थापित गरिदिएको नभई संघर्ष र योगदानबाट बनेको दाबी गरे।
‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ। यो देश हाम्रो पनि हो। हामी अन्य ओरिजनको होइन, नेपाली ओरिजनको हो। हामी अरूले उभ्याएको होइन,’ ओलीले भने।
गत वर्ष भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बालकोटस्थित ओली निवासमा आगजनी भएको थियो। उक्त घटनाबाट भएको क्षतिको अवलोकन गर्न ओली बुधबार बालकोट पुगेका हुन्।
निवासको अवलोकनपछि ओलीले आफूहरूलाई देशबाट विस्थापित गर्ने वा पलायन गराउने प्रयास सफल नहुने सन्देश दिएका छन्।




