काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी आणविक वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्।
उनले हालै कतारमा भएका बैठकहरू फलदायी रहेको उल्लेख गर्दै दुवै पक्षबीच भएको प्रगतिप्रति आशावादी रहेको बताए।
बुधबार उत्तर डकोटातर्फ प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने प्रयास सही दिशामा अघि बढिरहेको बताए।
उनले दुवै पक्षबीच भएका छलफललाई ‘अत्यन्त राम्रो’ भएको उल्लेख गर्दै आगामी दिनमा वार्ताले कस्तो परिणाम दिन्छ भन्ने प्रतीक्षामा रहेको बताए।
ट्रम्पका अनुसार अमेरिकाले इरानमाथि आवश्यक दबाब कायम राखेको भए पनि वार्ता प्रक्रिया निरन्तर अघि बढिरहेको छ।
यता, इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण प्रयोजनका लागि मात्र सञ्चालन भइरहेको अडान दोहोर्याउँदै आएको छ।
इरान र अमेरिकाबीच कतारको राजधानी दोहामा अप्रत्यक्ष प्राविधिक वार्ता जारी रहेको छ।
उक्त वार्तामा कतार र पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन्।




