पाल्पामा बढ्यो डीएपी मलको माग, युरियाको खपत घट्दो

पाल्पा — पाल्पामा पछिल्ला तीन आर्थिक वर्षयता डीएपी (डाइ–अमोनियम फस्फेट) मलको माग बढ्दै गएको छ भने युरिया मलको खपत क्रमशः घट्दै गएको देखिएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पा शाखाको तथ्यांकले किसानहरू सन्तुलित मल प्रयोगतर्फ आकर्षित हुन थालेको संकेत गरेको छ।

शाखा प्रमुख सिर्जना पाण्डेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई हजार मेट्रिक टन युरिया माग गरिएकामा एक हजार २९१.९५ मेट्रिक टन खपत भएको थियो।

सोही वर्ष ६ सय मेट्रिक टन डीएपी माग गरिएकामा ६३७.७० मेट्रिक टन खपत भएको थियो।

पोटास १२५ मेट्रिक टन माग गरिएकामा ९२.६५ मेट्रिक टन बिक्री भएको थियो।

आर्थिक वर्ष २०८१/८२ मा युरियाको माग दुई हजार मेट्रिक टन रहे पनि खपत घटेर एक हजार १८६ मेट्रिक टनमा सीमित भयो।

डीएपीको माग ६ सय मेट्रिक टन रहेकामा ६३७ मेट्रिक टन खपत भएको थियो भने १५० मेट्रिक टन पोटास माग गरिएकामा ९२ मेट्रिक टन मात्र बिक्री भएको शाखाले जनाएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा भने डीएपीको माग उल्लेखनीय रूपमा बढेर एक हजार मेट्रिक टन पुगेको छ।

मागअनुसार आपूर्ति हुन नसक्दा हालसम्म ५७१ मेट्रिक टन मात्र प्राप्त भएको छ, जसमध्ये ४३६ मेट्रिक टन वितरण भइसकेको छ।

यस्तै, चालु वर्ष युरियाको माग एक हजार ५०० मेट्रिक टन गरिएकामा एक हजार २८८ मेट्रिक टन प्राप्त भएको र एक हजार २६० मेट्रिक टन वितरण भइसकेको छ।

पोटास १५० मेट्रिक टन माग गरिएकामा ११० मेट्रिक टन प्राप्त भएको र ८३ मेट्रिक टन बिक्री भएको छ।

शाखा प्रमुख पाण्डेका अनुसार धान रोपाइँको प्रारम्भिक चरणमा प्रयोग हुने भएकाले पछिल्ला वर्षमा किसानको डीएपीप्रतिको आकर्षण बढेको हो।

युरिया भने बालीको वृद्धि चरणमा प्रयोग हुने भएकाले यसको माग र खपत फरक समयमा हुने गरेको उनले बताइन्।

सन्तुलित मल प्रयोगबारे किसानमा चेतना बढ्दै जाँदा युरियाको अत्यधिक प्रयोग पनि घट्दै गएको उनको भनाइ छ।

पाल्पाको माडी फाँट क्षेत्रमा हरियो मलको प्रयोग परम्परादेखि हुँदै आएकाले धान खेतीमा युरियाको प्रयोग तुलनात्मक रूपमा कम हुने गरेको किसान छवि थापाले बताइन्।

उनका अनुसार ढैंचा खेती गरी हरियो मल प्रयोग गर्ने चलनले माटोको उर्वराशक्ति बढाउनुका साथै उत्पादनसमेत वृद्धि हुने भएकाले रासायनिक मलमा निर्भरता कम भएको छ।

जिल्लाका १० वटै स्थानीय तहमा सूचीकृत सहकारीमार्फत स्थानीय तहको सिफारिसमा कृषि सामग्री कम्पनीबाट मल आपूर्ति गरी किसानलाई वितरण गर्ने व्यवस्था रहेको शाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *