बक्यौता नतिर्ने उद्योगमाथि कारबाही, औद्योगिक क्षेत्रमा धमाधम बिजुली–पानी काटिँदै

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता नतिर्ने उद्योगहरूको विद्युत् र पानीको लाइन काट्न सुरु गरेको छ।

लिमिटेडका अनुसार देशभरका १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित ६ सय ३५ उद्योग तथा निकायले कुल ८८ करोड ४५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ। बक्यौता असुलीका लागि लिमिटेडले गत २५ जेठ मा सूचना जारी गर्दै सात दिनभित्र भाडा, विद्युत्, पानी तथा अन्य सेवा प्रयोगबापतको रकम बुझाउन निर्देशन दिएको थियो।

सूचनाको बेवास्ता गर्दै बक्यौता नतिरेपछि बुधबारदेखि उद्योगहरूको बिजुली र पानीको लाइन काट्न सुरु गरिएको हो।

अहिलेसम्म विभिन्न औद्योगिक क्षेत्रका एक दर्जनभन्दा बढी उद्योगको बिजुली विच्छेद भइसकेको छ । जस अनुसार बालाजु औद्योगिक क्षेत्रमा रहेका बालाजु अटो क्लिनिक, गुराँस इन्जिनियर, बालाजु अटो वर्क्स र आरके प्लास्टिकको लाइन काटिएको छ ।

त्यसैगरी पाटन औद्योगिक क्षेत्रमा सञ्चालित अनुज मेटल, बिल्डिङ मटेरियल (बीरा), नेप्लिज ह्यान्डिक्राफ्ट, सरस्वती टेक्स्टायल, हिमालयन क्राफ्ट र भैरवनाथ आइरनको पनि बिजुली विच्छेद गरिएको छ ।

यस्तै नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका अरमान ट्रेडर्स र लभ ए रेस्ट्रो तथा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सञ्चालित श्री अन्नु फुड एन्ड स्न्याक्स इन्डस्ट्रिजको पनि लाइन काटिएको छ । क्यौता नतिरेसम्म सेवा पुनः जडान नगरिने लिमिटेडले जनाएको छ।

बक्यौता रहेका औद्योगिक क्षेत्रको सूचीमा बालाजु औद्योगिक क्षेत्र सबैभन्दा अगाडि छ । यहाँ सञ्चालित १ सय ५१ वटा उद्योग तथा प्रतिष्ठानले मात्रै सर्वाधिक ४३ करोड ९० लाख रुपैयाँ बुझाउन बाँकी छ ।

यसैगरी हेटौंडा औद्योगिक क्षेत्रका १ सय ३१ उद्योगको २० करोड ९० लाख र पाटन औद्योगिक क्षेत्रका ९४ उद्योगको १० करोड १० लाख रुपैयाँ बक्यौता छ ।

मध्यम स्तरको बक्यौता हुनेमा पोखरा र बुटवल औद्योगिक क्षेत्र छन्, जहाँका उद्योगले करिब साढे ४ करोड तिर्न बाँकी देखिन्छ । त्यस्तै भक्तपुर औद्योगिक क्षेत्रका उद्योगका नाममा १ करोड ७१ लाख र नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगका नाममा १ करोड ३४ लाख बक्यौता छ ।

तुलनात्मक रूपमा कम रकम उठ्न बाँकी औद्योगिक क्षेत्रमा धरान, गजेन्द्रनारायण सिंह (राजविराज) र वीरेन्द्रनगर छन् । तथ्यांक अनुसार धरानका उद्योगले ७१ लाख, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका उद्योगले ६३ लाख र वीरेन्द्रनगरका उद्योगले सबैभन्दा कम साढे ६ लाख रुपैयाँ बुझाउन बाँकी छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *