काठमाडौं ।संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बस्दै छ।
बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्।
प्रस्ताव प्रस्तुत भएपछि आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूबीच सामान्य छलफल सुरु हुनेछ। छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन्।
बैठकमा बजेट कार्यान्वयनसँग सम्बन्धित विभिन्न विधेयक पनि प्रस्तुत हुनेछन्। अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने तथा उक्त विधेयक सदनमा पेस गर्ने कार्यसूची छ।
त्यसैगरी ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी ती विधेयक सदनमा पेस गरिनेछ।
बैठकमा राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत हुने भएको छ।
उक्त प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पेस गर्नेछन्।
यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सम्बन्धी दुई महासन्धि सदनमा पेस गर्ने कार्यसूची छ।
तीमध्ये श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) तथा बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ रहेका छन्।
संसद् सचिवालयका अनुसार बैठकमा बजेट, विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी विभिन्न विषयमा छलफल अघि बढाइनेछ।







