काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पहलमा आज सर्वदलीय बैठक बस्दै छ।
प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे बोलेको विषय र सभामुख डीपी अर्याल निष्पक्ष नभएको भन्दै विपक्षी दलले लगातार संसद् अवरोध गरेपछि सत्तारुढ रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक राजनीतिक विषयका साथै संसद् गतिरोध हटाउन विपक्षी दलसँग छलफल हुने रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।
आज बिहान ९ बजे आह्वान गरिएको सर्वदलीय बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको कार्यकक्षमा बस्नेछ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी नेतृत्वसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ।
‘सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रण अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूमा पठाइसकिएको छ,’ बुर्लाकोटीले भने, ‘सबै दलबाट बैठकका लागि कन्फरमेसन भइसकेको छ।’
यसअघि सभामुख अर्यालले दलका प्रमुख सचेतक, सचेतक लगायतलाई फोन गरेर सहजीकरणका लागि आग्रह गरेका थिए।
आजको बैठकमा सदनमा देखिएको गतिरोध, लामिछाने गरेको दिल्ली भ्रमण, सीमा विवादबारे उठेका प्रश्नलगायत अन्य राजनीतिक विषयमा छलफल हुने बताइएको छ।







