नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता, सीमापार डिजिटल भुक्तानी सेवा सञ्चालनसहित तीनबुँदे संयुक्त घोषणा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ।

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेका मन्त्री खनालले समकक्षीसँग नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल गरेका हुन्।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार वार्तामा व्यापार तथा आर्थिक सहयोग, सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदमार्फत जनस्तरको सम्बन्ध सुदृढीकरणलगायतका विषयमा विचारविमर्श भएको थियो।

दुवै पक्षले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषय र बहुपक्षीय मञ्चमा सहकार्यका सम्भावनाबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दूतावासद्वारा जारी विज्ञप्तिअनुसार दुवै देश विकास साझेदारी, कनेक्टिभिटी विस्तार तथा पारस्परिक लाभका प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप गहिरो र फराकिलो बनाउन सहमत भएका छन्।

वार्ताका क्रममा तीनवटा समझदारी तथा सहकार्यसम्बन्धी दस्तावेज आदानप्रदान गरिएको छ। यसअन्तर्गत सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेडबीच भएको समझदारीअनुसार सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने व्यवस्था समावेश छ।

त्यसैगरी, भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएका नेपालका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा पुनर्निर्माण परियोजना नेपाललाई हस्तान्तरण गरिएको छ।

यस्तै, भाषा अनुवादसम्बन्धी ‘भ्वाइस फर्स्ट’ प्रविधि विकासका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङअन्तर्गतको डिजिटल सार्वजनिक पूर्वाधार तथा कृत्रिम बुद्धिमत्ता केन्द्र र भारतको डिजिटल भारत भाषिणी डिभिजनबीच समझदारीपत्र आदानप्रदान गरिएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले विकास सहयोग, कनेक्टिभिटी, ऊर्जा, विशेषगरी जलविद्युत्, शिक्षा, स्वास्थ्य, क्षमता विकास, डिजिटल प्रविधि, संस्कृति र खेलकुदका क्षेत्रमा नेपाल–भारत सहकार्यबारे विस्तृत छलफल भएको बताएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *