देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकारले काम गरिरहेको बताए ।

‘सरकार र मन्त्रीलाई प्रलोभनमा पारेर निर्णय प्रभावित गर्ने बिचौलियातन्त्रका नाइकेहरूको भूमिका समाप्त हुँदै गएको छ,’ तिमिल्सिनाले भने, ‘वडातहदेखि नै राजनीतिक संस्कार परिवर्तन गर्न आवश्यक छ र राजनीति कस्तो हुनुपर्छ भन्ने उदाहरण हामीले प्रस्तुत गर्नुपर्छ ।’

उनले राजनीति कुनै व्यक्ति विशेषको स्वार्थपूर्ति गर्ने वा कसैलाई पदमा पु¥याउने माध्यम नभई देशलाई सही दिशा दिने साधन हुनुपर्ने धारणा व्यक्त गरे ।

विकास निर्माणका काममा कुनै क्षेत्र वा समुदायलाई विभेद नगरिएको उल्लेख गर्दै उनले विकासमा सबैको समान पहुँच सुनिश्चित गर्ने प्रणाली निर्माणमा सरकार केन्द्रित रहेको बताए ।

शक्ति, पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँट गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउनुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले आम निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको बताए । उनले सरकार र सत्तारुढ दलले नागरिकका आकांक्षा, गुनासा र अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गरे ।

‘दुई–तीन महिनामै सबै अपेक्षा पूरा हुन सक्दैनन् र ठूलो परिणाम पनि तत्काल नदेखिन सक्छ । सरकारले लिएको दिशा, गरिएका निर्णय र अपनाइएको कार्यविधि सही छ कि छैन भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ,’ उनले भने ।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारलाई अझ प्रभावकारी बनाउन सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको बताउँदै सत्तारुढ दलको जिल्ला अधिवेशनमा आग्रह–पूर्वाग्रह त्यागेर सहकार्यको वातावरण बनाउन आग्रह गरे ।

जिल्ला अधिवेशनबाट सहमतिका आधारमा सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै उनले समूह, प्यानल वा गुटगत राजनीतिले दलको छवि धुमिल बनाउन नहुने धारणा राखे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *