१० जिल्लामा फैलियो बर्डफ्लु, ४ लाख ७९ हजारभन्दा बढी पक्षी नष्ट

काठमाडौं । नेपालमा पछिल्लो समय बर्डफ्लु ९एच५एन१० संक्रमण १० जिल्लामा फैलिएको छ । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली ९एनएएचआईएस० र ¥यापिड रेस्पोन्स टोली ९आरआरटी० को तथ्यांकअनुसार हालसम्म ५५ वटा व्यावसायिक तथा घरेलु पक्षीपालन फार्ममा संक्रमण पुष्टि भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका निकायहरूले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा पहिलो पटक गत चैत ४ गते झापाको सुन्दरहरैँचा–४ स्थित एउटा लेयर्स कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको थियो । त्यसयता संक्रमण कोशी प्रदेशबाट फैलिँदै मधेश, बागमती र अन्य क्षेत्रमा समेत पुगेको छ ।

तथ्यांकअनुसार संक्रमणका कारण हालसम्म ४ लाख ७९ हजार १५६ वटा पक्षी नष्ट गरिएको छ भने ६ लाख ९४ हजार १९३ वटा अण्डा नष्ट गरिएको छ । त्यस्तै, १ लाख ८२ हजार ७७५ किलोग्राम पशु आहारसमेत नष्ट गरिएको छ । सबैभन्दा बढी प्रभावित जिल्ला सुनसरी रहेको छ, जहाँ २३ वटा फार्ममा संक्रमण पुष्टि भएको छ । सुनसरीमा मात्रै २ लाख ८५ हजार ५६४ वटा पक्षी र ४ लाख २७ हजार ५८० वटा अण्डा नष्ट गरिएको छ । त्यस्तै मोरङमा ११ वटा फार्म प्रभावित हुँदा १ लाख १ हजार ८६० वटा पक्षी नष्ट गरिएका छन् ।

काठमाडौं उपत्यकामा समेत संक्रमण फैलिएको देखिएको छ । काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा २ वटा फार्म प्रभावित भएका छन् । काठमाडौंमा मात्रै ३९ हजार ४८१ वटा पक्षी नष्ट गरिएको तथ्यांकमा उल्लेख छ । संक्रमण प्रभावित अन्य जिल्लामा चितवन, झापा, बारा, पश्चिम नवलपरासी र महोत्तरी रहेका छन् । सम्बन्धित निकायका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रका पक्षी नष्ट गर्ने, अण्डा तथा दानामा नियन्त्रण गर्ने, सरसफाइ र निसंक्रमण अभियान सञ्चालन गर्ने लगायतका कदम चालिएका छन् ।

विशेषज्ञहरूले बर्डफ्लु फैलनुका मुख्य कारणमा जंगली चराचुरुङ्गीको आवतजावत, फार्म नजिक सिमसार क्षेत्रको उपस्थिति, जैविक सुरक्षा मापदण्डको कमजोर पालना, सवारीसाधन तथा आगन्तुकहरूको अनियन्त्रित प्रवेश, प्रयोग गरिएका अण्डा क्रेटहरूको उचित निसंक्रमण नगरी पुनः प्रयोग तथा पर्याप्त सुरक्षाविना जीवित र मरेका पक्षीको व्यवस्थापनलाई औंल्याएका छन् ।

अधिकारीहरूका अनुसार कोशी प्रदेशमा संक्रमण नियन्त्रणको चरणमा पुगेको देखिए पनि काठमाडौं उपत्यकामा प्रभावित फार्मको संख्या बढ्दै गएकोले थप सतर्कता आवश्यक छ ।

संक्रमणको जोखिम कायम रहेकाले नियमित निगरानी, परीक्षण, सरसफाइ तथा जैविक सुरक्षा उपायलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । पशु स्वास्थ्य अधिकारीहरूले किसानहरूलाई फार्ममा बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्न, जंगली चरासँग सम्पर्क हुन नदिन र कुनै असामान्य मृत्यु देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *