काठमाडौं। काठमाडौं महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूहरूले बहालमा लिएको घर, कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले बुधबार सूचना जारी गर्दै सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूलाई १५ दिनभित्र महानगरको सम्पर्कमा आई कार्यालय खाली गर्न निर्देशनात्मक आदेश जारी गरेको हो।
महानगरका अनुसार न्यायिक समितिले यसअघि सहकारी संस्थाले भाडामा लिएका कार्यालय खाली गराउनुपर्ने निर्णय गरिसकेको थियो। सोही निर्णय कार्यान्वयन गर्न गत जेठ १३ गते बसेको निर्णय कार्यान्वयन समितिको बैठकले १५ दिने म्यादसहित सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको जनाएको छ।
महानगरको कारबाही सूचीमा वडा नम्बर ३ मा रहेको सत्कार सहकारी संस्था लिमिटेड, वडा नम्बर १५ को अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर २२ को हिराखुसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, वडा नम्बर ३२ मा सञ्चालित मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नवल सवल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।







