इरान र अमेरिकाबीचको तनाव फेरि चुलिएको छ। इरानले बुधबार कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाइएको छ। त्यसअघि अमेरिकी सेनाले इरानको केश्म टापु तथा अन्य सैन्य संरचनामाथि कारबाही गरेको भन्दै जवाफि आक्रमण गरेको जनाएको छ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आइआरजीसी) ले कुवेत र बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौं बेडाको मुख्यालय, हवाई अड्डा तथा हेलिकोप्टरहरूलाई निशाना बनाएको दाबी गरेको छ। आइआरजीसीका अनुसार अमेरिकाले यसअघि केश्म टापुस्थित एक सञ्चार टावरमा पनि आक्रमण गरेको थियो।
आइआरजीसीले अमेरिकाले होर्मुज जलडमरूमध्य नजिकै रहेको एक इरानी तेल ट्यांकरमाथि समेत आक्रमण गरेको आरोप लगाएको छ। उक्त आक्रमणबाट ट्यांकरको इन्जिन कक्षमा क्षति पुगेको जनाइएको छ। त्यसको जवाफस्वरूप इरानले ‘पनाया’ नामक जहाजमाथि मिसाइल प्रहार गरेको दाबी गरेको छ।
यता, अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले जारी गरेको वक्तव्यमा भने इरानले छिमेकी देशहरूतर्फ धेरै मिसाइल प्रहार गरे पनि ती सबै प्रयास असफल भएको जनाएको छ।
कुवेततर्फ प्रहार गरिएका दुई मिसाइल लक्ष्यमा पुग्न नसकेको वा बीचमै नष्ट गरिएको दाबी गरिएको छ। त्यसैगरी बहराइनतर्फ प्रहार गरिएका तीन मिसाइललाई अमेरिकी र बहराइनी हवाई प्रतिरक्षा प्रणालीले खसालेको दाबि अमेरिकाले गरेको छ।






