जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयताको विरोधी नभएको स्पष्ट पारेका छन्। उनले संघीय संरचनालाई थप व्यवस्थित, चुस्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै प्रदेश सभा र प्रदेश परिषद्को अवधारणालाई अघि बढाउने बताएका छन्।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै झाले रास्वपा संघीयताको विपक्षमा नरहेको, बरु यसको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने पक्षमा रहेको बताए। संघीयतालाई व्यवस्थित बनाउने उद्देश्यसहित प्रदेश सभा र प्रदेश परिषद्को परिकल्पनातर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘हामी संघीयताको विरोधी होइनौँ, बरु हामी संघीयतालाई अझ व्यवस्थित, चुस्त र दुरुस्त बनाउन चाहन्छौँ। हामी प्रदेश सभा र प्रदेश परिषद्को परिकल्पनातर्फ जान चाहन्छौँ,’ झाले भने।
उनले गत निर्वाचनमा मधेसमा रास्वपाले उल्लेख्य मत प्राप्त गरेको उल्लेख गर्दै आगामी स्थानीय तह निर्वाचनमा पनि पार्टीको पक्षमा वातावरण बनाउन आग्रह गरे। त्यसका लागि एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
मधेसी समुदायभित्र आपसी विवाद गर्ने र एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा पनि झाले जोड दिए। राजनीतिक अभ्यास अध्ययन, विचार र संस्कारमा आधारित हुनुपर्ने उल्लेख गर्दै उनले सुसंस्कृत राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए।
उनको अभिव्यक्ति संघीयताबारे रास्वपाको दृष्टिकोण स्पष्ट पार्ने प्रयासका रूपमा आएको छ। संघीय संरचनाको प्रभावकारिता र त्यसको कार्यान्वयनबारे राजनीतिक बहस भइरहेका बेला झाले संघीयताको विरोधभन्दा पनि संरचनागत सुधारमा जोड दिएका हुन्।





