नेपाल टेलिकमले ९ महिनामा कमायो ६ अर्ब २७ करोड नाफा

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा ९.८५ प्रतिशत अर्थात् ५६ करोड २४ लाख रुपैयाँले बढेको हो। गत वर्षको यसै अवधिमा कम्पनीको खुद मुनाफा ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म कम्पनीको कुल सञ्चालन आय २.४२ प्रतिशतले बढेर २५ अर्ब ९२ करोड १६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा सञ्चालन आय २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ थियो।

त्यसैगरी, कम्पनीको कुल आय पनि १।४९ प्रतिशतले वृद्धि हुँदै २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको कर, ब्याज तथा ह्रासकट्टी अघिको मुनाफामा पनि १.३२ प्रतिशत अर्थात् १८ करोड ८० लाख रुपैयाँले बढेर १४ अर्ब ३८ करोड २ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४२.३ रुपैयाँ रहेको वार्षिक प्रतिशेयर आम्दानी ९.९ प्रतिशतले बढेर हाल ४६.४७ रुपैयाँ कायम भएको छ।

सञ्चालन आयअन्तर्गत जिएसएमतर्फको राजस्व गत वर्षको तुलनामा २.७६ प्रतिशत अर्थात् ५७ करोड ७४ लाख रुपैयाँले बढेको छ। त्यस्तै, कम्पनीको ह्रासकट्टी खर्च ८.४६ प्रतिशत अर्थात् ३८ करोड ६९ लाख रुपैयाँले घटेको छ, जसले नाफा बढाउन मद्दत पुर्‍याएको देखिन्छ।

यद्यपि, गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलनामा कम्पनीको ब्याज आय २०.५७ प्रतिशत अर्थात् ५७ करोड ६६ लाख रुपैयाँले घटेको टेलिकमले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *