नेपाल लाइफ इन्स्योरेन्सकाे नाफा ४५.४८ करोड, प्रतिसेयर आम्दानी कति?

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा भने २७.४० प्रतिशत कम हो । कम्पनीले गत आवको सोही अवधिसम्म ६२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले सो अवधिसम्म ३६ अर्ब ७० करोड ५२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा १२.९१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको थियो ।

कम्पनीले समिक्षा अवधिसम्म विभिन्न क्षेत्रबाट कुल ५२ अर्ब ३० करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा भने ९.५९ प्रतिशत कम हो ।

त्यस्तै, कम्पनीको यता दाबी भुक्तानी पनि सामान्य बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको दाबी भुक्तानी रकम ११ अर्ब १९ करोड १४ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिसम्म बढेर १२ अर्ब ४३ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

यता कम्पनीको कुल खर्च १०.१० प्रतिशतले बढेर ४९ अर्ब २० करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको खर्च ४४ अर्ब ६९ करोड २९ लाख रुपैयाँमा सीमित थियो । कम्पनीको जीवन बीमा कोषको आकार भने १३.७९ प्रतिशतले बढेको छ । सो अवधिसम्म कम्पनीले २ खर्ब ६७ अर्ब १३ करोड ६१ लाख रुपैयाँ बराबरको जीवन बीमा कोष खडा गर्न सफल भएको छ ।

साथै महाविपत्ती कोषको आकार पनि ३.२१ प्रतिशतले बढेर कोषमा १ अर्ब ५४ करोड १९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । यता कम्पनीको रिटेन्ड अर्निङ ७९ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ९.२४ रुपैयाँबाट घटेर ६.४० रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १२६.३३ रुपैयाँ रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *