टोखामा बजार अनुगमन, ६ वटा पसललाई ५० हजारसम्म जरिवाना, ४६ व्यवसायी कारबाहीमा

काठमाडौं । टोखा नगरपालिका ले बजार अनुगमनका क्रममा विभिन्न मापदण्ड उल्लंघन गर्ने ४६ वटा पसललाई कारबाही गरेको छ ।

नगरपालिकाले ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ अनुसार वैशाख २५ गतेदेखि नगरका ११ वटै वडामा बजार अनुगमन सञ्चालन गरेको जनाएको छ ।

अनुगमनमा नगरपालिका, नगर प्रहरी, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, पशु सेवा कार्यालय, उद्योग वाणिज्य संघ टोखा तथा उपभोक्ता हित संरक्षण मञ्चको सहभागिता रहेको थियो ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई का अनुसार अधिकांश व्यवसाय दर्ता तथा नवीकरणबिनै सञ्चालन गरिएको पाइएको छ ।

साथै, पसलमा मूल्यसूची नराखिएको, म्याद गुज्रिएका सामान बिक्रीका लागि राखिएको तथा मासु पसलमा सरसफाइको अभाव देखिएको उनले बताए ।

नगरपालिकाका अनुसार अनुगमनका क्रममा ३९ वटा माछा–मासु पसल, डेरी, भेटेरिनरी औषधि पसल, हस्तकला तथा खाद्यान्न पसललाई सचेत गराइएको छ ।

यस्तै, ६ वटा पसललाई एक हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको तथा एउटा पसल बन्द गरिएको जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *