काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि आज प्रतिनिधिसभामा छलफल सुरु हुँदैछ ।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शाहले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
फागुन २१ मा सम्पन्न निर्वाचनपछि दुईतिहाइ नजिकको समर्थनसहित प्रधानमन्त्री बनेका शाह संसद्मा कम बोल्ने शैलीका कारण पछिल्लो समय आलोचनामा परिरहेका छन् । चैत १९ देखि सुरु भएको अधिवेशनमा उनले संसद्मा सम्बोधन नगरेको भन्दै प्रतिपक्ष र सत्तापक्षभित्रै प्रश्न उठ्दै आएका छन् ।
गत वैशाख २८ मा राष्ट्रपति ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री शाह बीचमै संसद् बैठक छाडेर बाहिरिएको विषयले पनि राजनीतिक वृत्तमा चर्चा पाएको थियो ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् भने त्यसमाथि छलफलसमेत हुनेछ । संसद् सचिवालयका अनुसार छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूची तय गरिएको छ ।
सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको थियो ।







