बामपन्थी आन्दोलनले आत्मसमीक्षा गर्दै नयाँ वैचारिक दिशा तय गर्नुपर्छ :विद्या भट्टराई

काठमाडौं । नेकपा एमालेकी नेत्री तथा समाजशास्त्री विद्या भट्टराईले बामपन्थी आन्दोलनले आफ्नो विगत, वर्तमान अवस्था र भविष्यको दिशा गहिरो रूपमा आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन्।

मंगलबार काठमाडौं आयोजित ‘आजको राजनीति चुनौती, एजेन्डा र निकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बामपन्थी आन्दोलनले आफ्नो मूल वैचारिक पहिचान कति जोगाउन सक्यो भन्ने प्रश्न आजको मुख्य बहस हुनुपर्ने धारणा राखिन्।

अनुसार बामपन्थी आन्दोलनले हिजो समाज परिवर्तनका ठूला एजेन्डा उठाए पनि निर्णय र कार्यान्वयनको चरणमा पुग्दा कमजोर हुने प्रवृत्ति देखिएको छ।
उनले बामपन्थी आन्दोलनभित्र वैचारिक स्पष्टता कमजोर हुँदै गएको उल्लेख गर्दै बीचको समयमा आन्दोलन आफ्नो मूल विचारबाट टाढिँदै गएको टिप्पणी गरिन्। ‘हामी

क्रान्तिकारी कुरा धेरै गर्छौं, तर कार्यान्वयन र नतिजा दिने ठाउँमा पुग्दा अलमलिन्छौं,’ उनले भनिन्।

विद्या भट्टराईले संविधान निर्माण प्रक्रियालाई ऐतिहासिक उपलब्धि भए पनि त्यसको पूर्ण कार्यान्वयनमा राजनीतिक दलहरू चुकेको बताइन्। उनका अनुसार संविधानले सामाजिक न्याय, समावेशी लोकतन्त्र र समाजवादउन्मुख राज्यको परिकल्पना गरे पनि व्यवहारमा ती विषयहरू कमजोर रूपमा लागू भएका छन्।

उनले संविधान निर्माणपछि विभिन्न राजनीतिक शक्ति र आन्दोलनबीच सहमति भए पनि असहमति भएका पक्षहरूसँग पर्याप्त संवाद नहुँदा समस्या बढेको उल्लेख गरिन्। ‘संविधान सबैको साझा दस्तावेज भनिए पनि त्यसलाई सबै पक्षसँग मिलाएर लैजाने अभ्यास कमजोर रह्यो,’ उनले भनिन्।

उनले थप्दै भनिन्, बामपन्थी आन्दोलनले सामाजिक मुद्दाहरूलाई राजनीतिक आन्दोलनका रूपमा उठाए पनि राज्यमा पुगेपछि ती मुद्दा क्रमशः कमजोर हुँदै गएको छ। त्यसको सट्टा सत्ता, वर्चस्व र शक्ति सन्तुलनमा केन्द्रित हुने प्रवृत्ति बढेको उनको विश्लेषण छ।

त्यस्तै उनले राजनीतिक दलहरू भित्र विचारको विकास कमजोर हुँदै गएको र नेतृत्व हस्तान्तरण नहुनु आजको प्रमुख चुनौती भएको बताइन्। उनका अनुसार लामो समय एउटै नेतृत्व रहँदा संस्थागत सुधार र नयाँ पुस्ताको सहभागिता कमजोर हुन्छ।

उनले दलाल पुँजीवादको प्रभाव, सामाजिक न्यायको कमजोर कार्यान्वयन, र समाज–राज्य सम्बन्धमा आएको दूरीले बामपन्थी आन्दोलनमाथि प्रश्न उठाएको बताइन्।
कार्यक्रममा उनले राजनीतिक शक्ति मात्र होइन सामाजिक शक्ति, शिक्षा, प्रविधि र नागरिक चेतनालाई पनि शक्तिको रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याइन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *