काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निजी निवास र व्यावसायिक कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको विषयप्रति आपत्ति जनाएका छन्।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले विभागको उक्त कार्यले आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको बताएका हुन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले सोमबार मुख्यमन्त्री बानियाँको हेटौँडा–५ स्थित निवास र उनको स्वामित्वमा रहेको ‘बानियाँ निर्माण सेवा’ का विभिन्न कार्यालयमा एकैसाथ छापा मारी केही कागजात नियन्त्रणमा लिएको थियो।
हेटौंडा र काठमाडौंका घरमा समेत छापा मारिएपछि मुख्यमन्त्रीले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
राजनीतिक र व्यावसायिक जीवनको छानबिनलाई आफूले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उनले राज्यको निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै उपस्थित हुने अवस्थामा ‘अकस्मात् छापामारी’ गरिएकोमा असन्तुष्टि पोखेका छन्।
‘राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँदछु,’ विज्ञप्तिमा भनिएको छ।
मुख्यमन्त्री बानियाँले आफू मुख्यमन्त्री भएदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरेका छन्।
उनले प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौती र आर्थिक मितव्ययिताका लागि नीतिगत रूपमै अगाडि बढेको समेत उल्लेख गरेका छन्।
संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाउँदै उनले विभागको छापामारीबाट भ्रमित र चिन्तित नहुन प्रदेशवासी एवं शुभचिन्तकहरूलाई आग्रह गरेका छन्।
४० वर्षभन्दा लामो राजनीतिक यात्रामा आफू सधैँ विधिको शासनको पक्षमा रहेको उनले विज्ञप्ति मार्फत बताएका छन्।







