काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आज सोमबार साँझ ५ बजेसम्म ४७ जनाको आवेदन परेको हो ।
सेबोनको अध्यक्षका लागि सिफारिस गर्न गठित समितिले वैशाख १५ गते सूचना जारी गर्दै ७ दिन भित्र योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन भनेको थियो ।
आवेदकमध्ये धितोपत्र बोर्डका बहालवाला तथा पूर्व कर्मचारी, पूर्व मर्चेन्ट बैंकर र वित्तीय क्षेत्रमा अनुभव हासिल गरेका विभिन्न व्यक्तिहरू रहेका छन् । प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि समितिले अन्तिम पाँच जनाको नाम सिफारिस गर्नेछ, जसको आधारमा अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।
यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल सदस्य छन्।






