काठमाडौं । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहीम अजिजीले हर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी हस्तक्षेप भए त्यसलाई युद्धविराम उल्लंघनका रूपमा लिइने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अजिजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘प्रोजेक्ट फ्रिडम’ योजनाप्रति आपत्ति जनाएका छन्। उनले हर्मुज जलमार्ग र फारसको खाडीको व्यवस्थापन अमेरिकाको अधिकार क्षेत्रभित्र नपर्ने स्पष्ट पारेका छन्।
‘अमेरिकाले नयाँ समुद्री व्यवस्थामा हस्तक्षेप गरे त्यसलाई युद्धविराम उल्लंघन मानिनेछ,’ अजिजीले उल्लेख गरेका छन्।
यसअघि ट्रम्पले खाडी क्षेत्रमा बढ्दो तनावबीच हर्मुज जलमार्गमा रोकिएका अन्तर्राष्ट्रिय पानीजहाजलाई सुरक्षित रूपमा बाहिर निकाल्ने उद्देश्यसहित ‘प्रोजेक्ट फ्रिडम’ घोषणा गरेका थिए।
उनका अनुसार विभिन्न देशले आफ्ना जहाजको सुरक्षित आवागमनका लागि अमेरिकासँग सहयोग मागेका छन्। ट्रम्पले उक्त योजना सोमबारदेखि लागू हुने बताउँदै मानवीय प्रयासमा अवरोध भए कडा प्रतिकार गरिने चेतावनीसमेत दिएका छन्।






