सूर्यज्योति लाइफको ८ लाख ८७ हजारबढी शेयर अब १६५ रुपैयाँमै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहअन्तर्गतको सेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले आइतबार (वैशाख २१ गते)देखि बोलपत्र पेश गर्न आह्वान गरेको हो ।

बैंकका अनुसार सूर्यज्योति लाइफको कुल ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति वैशाख २८ गते कार्यालय समयभित्र तोकिएको छ । यसअघि सम्बन्धित कम्पनीले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेकोले अब सर्वसाधारणसहित इच्छुक सबै लगानीकर्ताले बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।

बोलपत्र आवेदन फाराम काठमाडौंको थापाथलीस्थित ट्रेड टावर भवनमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सकिनेछ । साथै बैंकको कर्पोरेट कार्यालय तथा विभिन्न शाखा कार्यालय—विराटनगर–३ (मोरङ), आदर्शनगर (वीरगञ्ज), महेन्द्रपुल (पोखरा), श्रवणपथ (बुटवल), हस्पिटल लाइन (धनगढी) र वीरेन्द्रनगर (सुर्खेत)बाट समेत फाराम प्राप्त गरी सोही स्थानमा बुझाउन सकिने व्यवस्था गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *