काठमाडौं । स्ट्रेट अफ हर्मुजमा रोकिएका पानीजहाजलाई सुरक्षित निकास दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।
ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत उक्त क्षेत्रमा थुनिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिका तयार रहेको बताएका थिए। सो घोषणाको असर सोमबारको कारोबारमा देखिएको हो।
बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७.५३ डलर कायम भएको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) ८४ सेन्टले घटेर १०१.१० डलरमा झरेको छ।
यद्यपि, अमेरिका–इरानबीचको तनाव र शान्ति सम्झौता अनिश्चित रहँदा तेलको मूल्य अझै १०० डलरभन्दा माथि नै रहेको छ। स्ट्रेट अफ हर्मुज क्षेत्रमा व्यापारिक आवागमन सीमित रहेको छ।
विश्लेषकहरूका अनुसार दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा वार्ता अघि बढ्न सकेको छैन।
ट्रम्पले इरानसँगको आणविक सम्झौतालाई प्राथमिकता दिएका छन् भने इरानले युद्ध अन्त्य र खाडी क्षेत्रमा लगाइएको नाकाबन्दी हटेपछि मात्र छलफल अघि बढ्ने बताउँदै आएको छ।
यसैबीच, पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक प्लस) ले जुन महिनाका लागि दैनिक १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेको छ।






