काठमाडौं । संचालनमा रहेका ५० लघुवित्त वित्तीय संस्थामध्ये हालसम्म ११ वटाले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमास (चैत मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार लघुवित्त कम्पनीहरुको वित्तीय अवस्थामा सुधार देखिएको छ।
चैत मसान्तसम्ममा सार्वजनिक तथ्यांकअनुसार ११ संस्थाले कुल १ अर्ब ९४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो नाफा १ अर्ब ३० करोड ८५ लाख रुपैयाँ थियो । यसरी समग्र नाफा ४८.८० प्रतिशतले बढेको देखिन्छ ।
कम्पनीगत रूपमा जीवन विकास लघुवित्त ६२ करोड ६९ लाख रुपैयाँ नाफासहित अग्रस्थानमा छ । यसको नाफा अघिल्लो वर्षको तुलनामा ७६.२६ प्रतिशतले बढेको हो । ४८ करोड ३२ लाख रुपैयाँ नाफासहित साना किसान विकास लघुवित्त दोस्रो स्थानमा रहे पनि यसको नाफा भने अघिल्लो वर्षको तुलनामा ११.३३ प्रतिशतले घटेको छ ।
त्यस्तै, आशा लघुवित्तले १६८.७६ प्रतिशतको वृद्धिसहित १७ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । मेरो माइक्रोफाइनान्सले १४.८६ प्रतिशतले नाफा बढाउँदै १४ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ ।
यस अवधिमा महुली लघुवित्त र एनआईसी एशिया लघुवित्तको नाफामा असामान्य वृद्धि देखिएको छ । महुलीको नाफा १२ गुणाभन्दा बढीले बढेको छ भने एनआईसी एशियाको नाफा ८० गुणाभन्दा बढीले उकालो लागेको छ । दुवै संस्थाको अघिल्लो वर्षको आधार नाफा न्यून रहेकाले यस्तो उच्च वृद्धि देखिएको हो ।
त्यसैगरी, हिमालयन, आत्मनिर्भर, सपोर्ट र गुराँस लघुवित्तले पनि नाफा बढाएका छन् । यता आरएसडीसी लघुवित्तको नाफा ६.०८ प्रतिशतले घटेको छ ।
समग्रमा लघुवित्त क्षेत्रको नाफा उकालो लागे पनि संस्थागत रूपमा भने प्रदर्शन फरक–फरक देखिएको छ । सञ्चालन खर्च, कर्जा विस्तार, असुली दर र समग्र आर्थिक गतिविधिले संस्थाहरूबीच नाफामा असमानता देखिएको हो ।