युक्रेनमाथि रसियाको आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा खाद्य तथा गैरखाद्य वस्तुको मूल्य बढेकाले नेपालमा पनि त्यसको प्रभाव केही समय रहने
घट्दो विदेशी मुद्रा सञ्चिति, बढ्दो शोधनान्तर र व्यापार घाटालगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा रहेको भनिएका बेला निरन्तरको मूल्य वृद्धि थप चुनौतीका रूपमा देखिएको छ ।
पछिल्ला महिनामा मूल्य वृद्धि उच्च दरले निरन्तर उकालो लागिरहेको छ । गत चैतमा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर औसत ७.२८ प्रतिशत छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा गत चैतको मूल्य वृद्धिदर ४.१८ प्रतिशत बिन्दुले बढी हो । २०७७ चैतमा यस्तो वृद्धिदर ३.१० प्रतिशत मात्रै थियो । गत चैतको मूल्य वृद्धिदर चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले तय गरेको वार्षिक लक्ष्यभन्दा बढी हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस वर्षमा ६.५ प्रतिशत मूल्य वृद्धिदर कायम गर्ने लक्ष्य तय गरेको थियो । तर पछिल्ला महिनामा मूल्य वृद्धि त्योभन्दा बढी भइरहेको छ ।
गत चैतमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ७.४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धि ७.१८ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार २०७७ चैतको तुलनामा गत चैतमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेलको मूल्य वृद्धि सबैभन्दा धेरै २८.३६ प्रतिशत बढेको छ । यस्तै दुग्ध पदार्थ तथा अन्डाको ११.५६, दाल तथा गेडागुडीको १०.५३ र सुर्तीजन्य पदार्थको ८.९१ प्रतिशतले बढेको छ । सोही अवधिमा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातको मूल्य वृद्धिदर सबैभन्दा बढी २०.१६ प्रतिशत छ । शिक्षाको ८.७९ र विविध वस्तु तथा सेवाका मूल्य वृद्धिदर ८.१७ प्रतिशत छ ।
अन्तर्राष्ट्रिय र राष्ट्रिय परिदृश्य हेर्दा आउँदा केही महिना अझै मूल्य वृद्धिदर चापमा रहने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउँदै आएका छन् । राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा उनले सार्वजनिक वक्तव्यमै यस्तो बताएका थिए । उनले भनेका थिए, ‘खासगरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि र युक्रेनमाथि रसियाको आक्रमणका कारण खाद्य तथा गैरखाद्य वस्तुको मूल्य वृद्धि हुन गएकाले नेपालमा पनि मूल्य वृद्धिको चाप केही समय कायम रहने देखिन्छ ।’
मूल्य वृद्धि विश्वव्यापी रूपमै उकालोमा
गत अप्रिलमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जारी गरेको विश्व आर्थिक परिदृश्यअनुसार सन् २०२२ मा विश्व अर्थतन्त्रको आर्थिक वृृद्धिदर खुम्चिने तर मूल्य वृद्धिदर भने बढ्ने प्रक्षेपण गरिएको छ । सन् २०२१ मा ४.७ प्रतिशत रहेको विश्वको मूल्य वृद्धिदर सन् २०२२ मा ७.४ प्रतिशत पुग्ने कोषको अनुमान छ । विकसित अर्थतन्त्रहरूको औसत मूल्य वृद्धिदर सन् २०२१ मा ३.१ प्रतिशत रहेकामा सन् २०२२ मा ५.७ प्रतिशत रहने प्रक्षेपण छ । ‘सन् २०२१ मा ५.९ प्रतिशत रहेको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको औसत मूल्य वृद्धिदर सन् २०२२ मा ८.७ प्रतिशत रहने प्रक्षेपण छ,’ कोषले भनेको छ । कोषका अनुसार सन् २०२२ मा छिमेकी मुलुकहरू भारतको मूल्य वृद्धिदर ६.१ र चीनको मूल्य वृद्धिदर २.१ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।
विदेशी मुद्रा सञ्चिति १८.२ प्रतिशत घट्यो
गत चैत मसान्तमा मुलुकको कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो करिब साढे १६ प्रतिशत घटेको हो । अमेरिकी डलरमा गत चैतमा विदेशी मुद्रा सञ्चिति ९ अर्ब ६१ करोड छ । गत असारको तुलनामा यो १८.२ प्रतिशतले घटेको हो ।
गत असारमा यस्तो सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर थियो । यो विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले दाबी गरेको छ । यो राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति कायम राख्न कायम गरेको वार्षिक लक्ष्यभन्दा कम हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ ।
संकटोन्मुख अवस्थामा रहेको अर्थतन्त्रलाई जोगाउन अनेक प्रयास गरिए पनि स्थितिमा अपेक्षित सुधार नआएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । शोधनान्तर घाटा बढ्नु, अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति घट्नु, व्यापार घाटा र मूल्यवृद्धि तीव्र दरले उकालो लाग्नु, रेमिट्यान्स आप्रवाह वृद्धिदर अझै ऋणात्मक हुनुलगायत सूचकले अर्थतन्त्रमा सुधार नभएको पुष्टि हुने अर्थविद्हरू बताउँछन् । चालु आर्थिक वर्षको ९ महिनासम्मको तथ्यांकले मुद्रास्फीति र बाह्य क्षेत्रमा रहेको दबाब कायमै रहेको तथा रेमिट्यान्स आप्रवाहमा केही सुधार देखिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टको भनाइ छ ।
शोधनान्तर घाटा २ खर्ब ६८ अर्ब
मुलुकको शोधनान्तर स्थिति गत चैतमा २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा छ । अघिल्लो महिना (फागुन) को तुलनामा चैतमा शोधनान्तर घाटा ९ अर्ब ४२ करोड रुपैयाँले थपिएको हो । गत आर्थिक वर्षको चैतमा यस्तो सूचक ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो । ‘अमेरिकी डलरमा गत वर्षको चैतमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति गत चैतमा २ अर्ब २५ करोडले घाटामा छ,’ राष्ट्र बैंकले भनेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै शोधनान्तर घाटा निरन्तर बढिरहेको छ । सोही क्रममा क्रममा ९ महिनामा २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा गएको हो । विदेशी मुद्रा सञ्चिति बढाउन राज्यस्तरबाट विशेष पहल नगरिए आउँदा महिनामा अर्थतन्त्रको अवस्था झन् बिग्रिँदै जाने अर्थविद्हरूको आकलन छ । यही कारण आयात कम गर्न प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने, सुन आयातको कोटा घटाउने, चाँदीको भन्सार दर बढाउने, अनावश्यक वस्तुको एलसी नखोल्न बैंकहरूलाई निर्देशन र निश्चित वस्तुको आयात रोक्न सरकारलाई सुझाएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
‘अर्थतन्त्रको अवस्थामा गत चैतसम्म खासै सुधार भएको छैन । महत्त्वपूर्ण सूचक अझै ऋणात्मक नै छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘यद्यपि चैतमा रेमिट्यान्स केही बढेकाले गत फागुनको तुलनामा चैतमा सूचकहरूको स्थिति धेरै नबिग्रेको देखिएको हो ।’ शोधनान्तर घाटामा रहँदा विदेशी लगानी निरुत्साहित हुन्छ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउने उनीहरूको भनाइ छ ।
७ खर्ब २४ अर्ब रेमिट्यान्स भित्रियो
चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैतसम्म) रेमिट्यान्समार्फत ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स ०.६ प्रतिशत घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशत बढेर ७ खर्ब २९ अर्ब रुपैयाँ मुलुक भित्रिएको थियो । गत चैतसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.२ प्रतिशत कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । गत वर्षको चैतमा यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
चालु आर्थिक वर्षको साउनयता रेमिट्यान्स लगातार घटिरहेको छ, जसअनुसार गत साउनमा १८.१, भदौमा ६.३, असोजमा ७.६, कात्तिकमा ७.५, मंसिरमा ६.८, पुसमा ५.५, माघमा ४.९ र फागुनमा १.७ प्रतिशत घटेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा रेमिट्यान्समा सुधार नभए पनि हरेक पछिल्लो महिनामा रेमिट्यान्सको घट्ने दरमा भने कमी आइरहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।







