चैत महिनामा मात्रै करिब ६२ हजार नेपाली वैदेशिक रोजगारीमा

काठमाडौँ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चैत महिनामा उल्लेख्य रूपमा बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार फागुनको तुलनामा चैतमा झन्डै ९ हजारले वृद्धि हुँदै कुल ६१ हजार ८१९ जनाले श्रम स्वीकृति लिएका छन्।

फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएका थिए।

विभागका अनुसार चैतमा  ५५ हजार ७१२ पुरुष र ६ हजार १०७ महिलाले श्रम स्वीकृति प्राप्त गरेका छन्। नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या २० हजार ५४५ रहेको छ, जसमा १७ हजार ६७० पुरुष र २ हजार ८७५ महिला रहेका छन्।

तथ्याङ्कअनुसार चैत महिनामा सबैभन्दा धेरै १८ हजार ६ सय ४९ जना नेपाली मलेसिया गएका छन्। दोस्रोमा संयुक्त अरब इमिरेट्स (युएई) मा ११ हजार ४ सय ६३, कतारमा ८ हजार ९ सय ५९ र साउदी अरबमा ८ हजार ९ सय २० जना गएका छन्।

पछिल्लो समय युरोपेली राष्ट्रहरूमा पनि नेपालीको आकर्षण बढेको देखिएको छ। रोमानियाका लागि ४ हजार ४ सय ३८ जनाले श्रम स्वीकृति लिँदा जापानका लागि १ हजार ६ सय २६ र साइप्रसका लागि १ हजार ३९ जनाले श्रम स्वीकृति लिएका छन्।

विभागको तथ्याङ्क अनुसार रोजगारीमा नयाँ जानेभन्दा बिदामा आएर पुनः सोही देश फर्किने श्रमिकको सङ्ख्या धेरै छ । चैतमा ४१ हजार २ सय ७४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

त्यस्तै, म्यानपावर कम्पनी (संस्थागत) मार्फत ११ हजार ५ सय ५८ जना गएका छन् भने व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ८ हजार ६ सय ५२ रहेको छ। सरकार–सरकार (जी–टु–जी) सम्झौतामार्फत (विशेष गरी दक्षिण कोरिया) ३ सय ३५ जना नेपाली बिदेसिएका छन्।

विभागको तथ्याङ्क अनुसार जिल्लागत रूपमा हेर्दा वैदेशिक रोजगारीमा जानेमा मधेस प्रदेशका जिल्लाहरू सबैभन्दा अगाडि छन्। चैतमा धनुषा जिल्लाबाट सर्वाधिक ३ हजार ८ सय २९ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै, सिराहाबाट २ हजार ६ सय ९८, महोत्तरीबाट २ हजार ६ सय २२, झापाबाट २ हजार ५ सय ३३ र मोरङबाट २ हजार २ सय १२ जना नेपाली बिदेसिएका छन्।

वैदेशिक रोजगारीमा जानेमध्ये ४२ हजार २१ जना दक्ष कामदार रहेका छन्। त्यस्तै १३ हजार ३६६ जना अदक्ष, ६ हजार १०९ अर्धदक्ष, २५३ प्रोफेसनल र ७० जना उच्च दक्ष श्रमिक रहेका छन्।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *