काठमाडौँ। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा चैत महिनामा उल्लेख्य वृद्धि भएको छ। वैदेशिक रोजगार विभागका अनुसार फागुनको तुलनामा चैतमा करिब ९ हजार बढीले श्रम स्वीकृति लिएका छन्।
फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएकोमा चैत मसान्तसम्म यो संख्या बढेर ६१ हजार ८१९ पुगेको छ। तीमध्ये ५५ हजार ७१२ पुरुष र ६ हजार १०७ महिला छन्। यसमा पुनः श्रम स्वीकृति लिनेहरू पनि समावेश छन्।
विभागका अनुसार चैतमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २० हजार ५४५ रहेको छ, जसमा १७ हजार ६७० पुरुष र २ हजार ८७५ महिला छन्।
देश अनुसार हेर्दा सबैभन्दा बढी नेपाली मलेसिया गएका छन्, जहाँ १८ हजार ६४९ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि यूएई (११ हजार ४६३), कतार (८ हजार ९५९), र साउदी अरब (८ हजार ९२०) रहेका छन्। युरोपतर्फ रोमानियामा ४ हजार ४३८ जनाले श्रम स्वीकृति लिएका छन् भने जापान र साइप्रस पनि आकर्षक गन्तव्य बनेका छन्।
चैत महिनामा ४१ हजार २७४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने म्यानपावरमार्फत ११ हजार ५५८ र व्यक्तिगत रूपमा ८ हजार ६५२ जना गएका छन्। सरकारी–सरकारी (जी–टु–जी) सम्झौतामार्फत ३३५ जना दक्षिण कोरिया गएका छन्।
प्रदेशगत रूपमा मधेस प्रदेशका जिल्लाहरूबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने देखिएको छ। धनुषाबाट मात्रै ३ हजार ८२९ जनाले श्रम स्वीकृति लिएका छन्।
सीपगत रूपमा हेर्दा अधिकांश दक्ष कामदार छन्। ४२ हजार २१ जना दक्ष, १३ हजार ३६६ अदक्ष, ६ हजार १०९ अर्धदक्ष, २५३ प्रोफेसनल र ७० जना उच्च दक्ष कामदार रहेका छन्।






