काठमाडौँ । सरकारले यही वैशाख १७ गतेका निम्ति आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएको छ ।
सरकारको सिफारिसमा वैशाख ९ राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यो अधिवेशन रोक्न वैशाख १० गते आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको हो । सरकारले पठाएको पत्रमा अधिवेशन रोकेर कहिले आह्वान गर्ने भन्ने मिति समेत उल्लेख नभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार आज अपरान्ह ४ बजे अधिवेशन रोक्ने पत्र राष्ट्रपतिको कार्यालयमा पत्र पुगेको हो । सरकारले पठाएको पत्रमा आगामी अधिवेशन कहिले बोलाउने भन्ने समेत उल्लेख गरिएको छैन। यता राष्ट्रपति कार्यालयले भने अहिलेसम्म अधिवेशन रोकिसकेको निर्णय गरेको छैन ।
राष्ट्रपतिको कार्यालयले वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को सिफारिसमा भन्दै यसअघि वैशाख १७ गतेका लागि अधिवेशन आह्वानको सूचना जारी गरेको थियो ।






