अखिल क्रान्तिकारीको चेतावनी: ४५ प्रतिशत विद्यार्थी भाडा छुटमा खेलवाड भए सशक्त आन्दोलन गर्ने

काठमाडौँ । सार्वजनिक सवारीमा विद्यार्थीलाई दिँदै आएको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनमा अन्योल देखिएपछि अखिल (क्रान्तिकारी) ले कडा आपत्ति जनाएको छ।

संगठनले आज विज्ञप्ति जारी गर्दै सरकारले तोकेको ४५ प्रतिशत भाडा छुट तत्काल कार्यान्वयन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले हालै सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ। तर सोही विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अभिव्यक्तिले कार्यान्वयनमा अन्योल थपिएको भन्दै विद्यार्थी सङ्गठन आक्रोशित बनेको छ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठले विद्यार्थीलाई दिइने छुट कुनै दया नभई विगतका सङ्घर्षबाट प्राप्त अधिकार भएको स्पष्ट पारे । ‘४५ प्रतिशत छुट नदिने निर्णय विद्यार्थी विरोधी मात्र होइन, आन्दोलनलाई निम्तो दिने कदम हो,’ श्रेष्ठले भने ।

विज्ञप्तिमा सरकार र व्यवसायी पक्षबिच भएका पुराना सहमति कार्यान्वयन गर्न माग गर्दै तुरुन्त छुट लागू गर्न जोड दिइएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *