एडीबीको २०२५ मा २९ अर्ब ३० करोड डलर लगानी

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा कुल २९ अर्ब ३० करोड अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता जनाएको छ। बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन २०२५ अनुसार यो रकम आफ्नै स्रोतबाट हुने लगानी हो।

एडीबीले २०२५ लाई विश्वव्यापी रूपमा जटिल र अनिश्चितताले भरिएको वर्षका रूपमा उल्लेख गर्दै त्यसैबीच ठूलो स्तरको सहायता प्रतिबद्धता गरेको जनाएको छ। यो प्रतिबद्धता सन् २०२४ को तुलनामा करिब २० प्रतिशतले बढी हो।

बैंकका अनुसार यस लगानीबाट करिब ३३ लाखभन्दा बढी रोजगारी सिर्जना हुने र १८ करोडभन्दा बढी मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ।

एडीबी अध्यक्ष मासातो कान्डाले एसिया प्रशान्त क्षेत्रको माग अनुसार सेवा पुर्‍याउन एडीबी सक्षम भएको बताएका छन् ।

एडीबीका अनुसार यो रकम सरकार र निजी क्षेत्रमा प्रवाह हुने ऋण, अनुदान, इक्विटी लगानी तथा प्राविधिक सहायता समेत हो । यस वर्ष निजी क्षेत्रका लागिमात्र एडीबीले ५ अर्ब ५० करोड डलर बराबर सहायता प्रतिबद्धता जनाएको छ ।

बैंकका अनुसार मध्यपश्चिम एसियामा ८ अर्ब ३० करोड डलर, पूर्वी एसियामा १ अर्ब ४० करोड डलर र प्रशान्त क्षेत्रमा ६८ करोड डलर बराबर सहायता विनियोजन गरिएको छ । नेपाल समेत रहेको दक्षिण एसियामा भने ९ अर्ब ७० करोड डलर प्रतिबद्धता व्यक्त गरेको छ ।

दक्षिण–पूर्वी एसियामा ९ अर्ब डलर विनियोजन गरिएको एडीबीको भनाइ छ । सन् १९६६ मा स्थापना भएको एडीबीमा ६९ सदस्यको स्वामित्व छ । जसमध्ये एसिया प्रशान्त क्षेत्रका ५० सदस्य छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *