काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पछिल्लो १५ दिनमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा बेहोर्नु परेको जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा सोहीअनुसार बिक्री मूल्य समायोजन नहुँदा घाटा बेहोर्नु परेको हो।
विवरणअनुसार डिजेलमा प्रतिलिटर ८७.९९ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१.२५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। त्यसैगरी पेट्रोलमा २.३२ रुपैयाँ, मट्टितेलमा ३६.७० रुपैयाँ घाटामा रहेको छ । यस्तै आन्तरिक हवाई इन्धनमा ९२ पैसा प्रतिलिटर घाटा रहेको छ भने बाह्यतर्फको हवाई इन्धनमा भने प्रतिलिटर ६.५२ रुपैयाँ नाफा रहेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा इन्धनको मूल्यलाई लिएर फैलिएका नकारात्मक सूचनाहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निगमले हालको कठिन परिस्थितिमा पनि आपूर्ति व्यवस्थालाई सहज बनाइराख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नासाथ नेपालमा पनि सोहीअनुसार मूल्य समायोजन गरिने जानकारी दिँदै निगमले उपभोक्ताहरूलाई यथार्थ परिस्थितिलाई बुझिदिन आग्रह गरेको छ।







