दूषित खाद्यवस्तुबाट बर्सेनि ६० करोड बिरामी, ४ लाख २० हजारको मृत्यु

काठमाडौं । दूषित खाद्यवस्तुका कारण विश्वभर प्रत्येक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने र ४ लाख २० हजार जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार खाद्यजन्य रोगले विशेषगरी बालबालिका तथा कमजोर समुदायलाई बढी प्रभावित गर्ने गरेको छ।

पाँच वर्षमुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब ४० प्रतिशत हिस्सा वहन गर्ने गरेका छन्।

यस्ता रोगका कारण वार्षिक करिब १ लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको डब्ल्युएचओले जनाएको छ।

दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्।

यस्ता जोखिम अधिकांश अवस्थामा नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण विषयका रूपमा लिइन्छ।

विशेषज्ञहरूका अनुसार खाद्य सुरक्षा उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृंखलासँग सम्बन्धित छ।

खाद्यवस्तुको उत्पादन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी र उपभोगका प्रत्येक चरणमा सुरक्षा मापदण्ड पालना गर्न सके खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ।

खाद्य सुरक्षाका लागि प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतना आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताबीच समन्वय आवश्यक हुने उनीहरूको भनाइ छ।

यसैबीच, सुरक्षित खाद्यवस्तुको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आइतबार विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइएको छ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् २०१८ मा जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो।

त्यसयता सन् २०१९ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो।

दिवसको प्रवर्द्धन तथा समन्वय डब्ल्युएचओ र खाद्य तथा कृषि संगठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन्।

‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशसहित मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन तथा दिगो विकासबीचको सम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सबै पक्षको सक्रिय सहभागितामा जोड दिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *