काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताएका छन्।
राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा शनिबार राजधानीमा सम्बोधन गर्दै झाले निजी क्षेत्रको विकासबिना अर्थतन्त्र मजबुद हुन नसक्ने बताएका हुन्।
उनले निजी क्षेत्रको विकासले मात्रै मुलुकको अर्थमन्त्र मजबुत हुने बताउँदै गभर्मेन्ट र डेभलपमेण्ट इकोनोमीले स्थायित्वमा मद्दत पुर्याउने बताए। सांसद झाले सन् २०२६ को तथ्यांक उल्लेख गर्दै अमेरिकाको प्राइभेट सेक्टरको इकोनोमी साढे ४६ हजार खर्ब बराबरको रहेको बताए।
चीनमा निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबरको छ। छिमेकी देशहरुमा प्राइभेट क्षेत्रले धेरै ग्रोथ गरेकाले नेपालमा समेत अब निजी क्षेत्रको ग्रोथ बढ्न जरुरी रहेको बताए।
कार्यक्रममा रास्वपाका सांसद सुशान्त वैदिकले नयाँ सरकारले जारी गरेको सय दिने कार्ययोजनामा उद्यमशीलताका विषयहरूलाई पर्याप्त महत्व दिइएको बताए। उनका अनुसार रास्वपा नेतृत्वको नयाँ सरकारले सय दिने कार्ययोजना ल्याउँदा उद्यमशीलताका विषयहरू कतै पनि छुटाएको छैन। महत्वका साथ उद्यमशीलताले स्थान पाएको उनको भनाइ छ।
वैदिकले देशको आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको आर्थिक उन्नति हासिल गर्न गाउँगाउँमा रहेका साना तथा लघु उद्यमीदेखि स्टार्टअपसम्मका उद्यमहरूले ठूलो भूमिका खेल्ने बताए।






