काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा परिवारको मेजर स्वामित्व रहेको चन्द्रागिरी हिल्स लिमिटेडले परिस्थितिजन्य घटनाको फाईदा उठाउँदै एक सर्वसाधारण नागरिकसँग १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको क्षतिपूर्ति माग गर्दै मुद्दा दयार गरेपछि यसले कर्पोरेट क्षेत्रको एउटा भयानक र निर्दयी चित्र उजागर गरेको छ।
जेनजी विद्रोहका क्रममा असन्तुष्टि पोख्दै झ्यालको सीसा फुटाएको बयान दिएका एक किराना पसले माथि १ अर्ब ६४ करोडको विगो माग दावी गर्दै मुद्दा दायर गर्ने चन्द्रागिरी हिल्सको वास्तविक कुल सम्पति कति हो ? एउटा संरचनामा सामान्य आगजनी हुँदा र केहि झ्यालका सीसा फुट्दा १ अर्ब ६४ करोडको क्षति सम्भव छ ? अनि के आधारमा झन्डै २ खर्ब रुपैयाँको अप्रत्यासित माग दावी गरिएको होला ? यतिबेला व्यापारी चन्द्र ढकाल र चन्द्रागिरी हिल्समाथि यी र यस्ता यावत प्रश्न चौतर्फी उठिरहेका छन्।
यो बिषय सार्वजनिक भएपछि ढकाल समूहमाथि विभिन्न किसिमका शंका उपशंका उत्पन्न भएका छन्। ढकाल समूहले गरेको यो मागदावी किराना पसलेलाई अपराधी सावित गर्न भन्दा पनि चन्द्रागिरी हिल्सको नाजुक वित्तीय अवस्था उकास्न गरिएको ‘ग्रान्ड डिजाईन’ का रुपमा हेरिएको छ। योसँगै सीसा फुटाएको बयान दिएका एक व्यक्तिविरुद्द प्रहरीले तयार गरेको प्रतिवेदन र सो प्रतिवेदनमा आधारमा क्षतिको मूल्यांकन गर्ने प्राविधिक मुल्यांकनकर्ता (Valuators) माथि समेत छानविन हुनुपर्ने माग उठिरहेको छ ।
जेनजी विद्रोहका क्रममा चन्द्रागिरी नगरपालिका–७ का धर्मसिंह तामाङ माथि चन्द्रागिरी हिल्सको संरचना तोडफोड र आगजनी गरेको अभियोग लगाइएको छ। थानकोट प्रहरीले जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको अभियोग पत्रमा तामाङसँग १ अर्ब ६४ करोड २४ लाख ५३ हजार ८ सय १६ रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ। हिरासतमा रहेका तामाङले भने बयानमा आफूले एउटा भाटाले सामान्य सिसा मात्र फुटाएको र आगजनीमा आफ्नो संलग्नता नरहेको बताएका छन्।
किराना पसल चलाएर सामान्य जीविकोपार्जन गर्ने एक नागरिकमाथि अर्बौंको दायित्व थोपरेर मुद्धा अभियोजन गरिनुलाई अधिकांसले ‘अस्वाभाविक’ मानेका छन्। एउटा सिसा फुटाएको व्यक्तिमाथि सिंगो कम्पनीको अर्बौंको क्षति थोपर्नु! के यो न्याय हो ? या आफ्ना छोरालाई सांसद बनाउन नपाएको प्रतिशोध ? यो प्रश्न जनमानसमा तीव्र रूपमा उठिरहेको छ। ढकालले जेनजी विद्रोहको फाईदा उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदको सूचीमा आफ्ना छोरा राखेका थिए तर व्यापक बिरोध भएपछि उनी सांसद बन्न पाएनन्।
चन्द्रागिरी हिल्स- ढकाल समूहबीचको ‘इन्साइडर’कनेक्सन
चन्द्रागिरी हिल्सको १६औं वार्षिक प्रतिवेदन (आ.व. २०८१/८२) को पृष्ठ ७९ मा एउटा यस्तो तथ्य फेला परेको छ, जसले कम्पनीको नियतमाथि मात्र होइन, सिंगो ‘ढकाल साम्राज्य’को व्यवसायिक नैतिकतामाथि नै गम्भीर प्रश्न उठाएको छ।
पब्लिक लिमिटेड कम्पनीले वस्तु वा सेवा खरिद गर्दा पारदर्शी र प्रतिस्पर्धी बजारबाट रोज्नुपर्ने कानुनी र नैतिक बाध्यता हुन्छ। तर, चन्द्रागिरी हिल्सले आफ्ना सञ्चालक, उनीहरूका नातेदार र भगिनी कम्पनीहरूसँगै करोडौँको कारोबार गरिरहेको प्रतिवेदनले देखाउँछ। लेखापरीक्षणको भाषामा यसलाई ‘सम्बन्धित पक्षसँगको कारोबार’ (Related Party Transaction) भनिन्छ, जहाँ ‘स्वार्थको टकराव’ (Conflict of Interest) हुने सम्भावना शतप्रतिशत रहन्छ। प्रतिवेदनअनुसार चन्द्रागिरी हिल्सले आफ्ना संरचना र कर्मचारीको बीमा समेत ढकाल समूहकै लगानी रहेका कम्पनीहरूमा गरेको छ, जुन सरासर नियमविपरीत छ।
चन्द्रागिरी हिल्सले कम्पनीको बीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा गराएको छ। यसका अध्यक्ष चन्द्र ढकालका सहोदर भाइ हेमराज ढकाल हुन्। कम्पनीको प्रतिवेदनअनुसार आ.व. २०८१/८२) मा ‘सेल्स अफ सर्भिस’अन्तर्गत चन्द्रागिरी हिल्सले यस कम्पनीलाई ५,८३,३३४ रुपैयाँ बुझाएको छ।
त्यस्तै चन्द्रागिरी हिल्सकोअर्को बीमा आइएमई लाइफ इन्स्योरेन्समा गरिएको छ। यसको संस्थापकमा स्वयं चन्द्र ढकाल र ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमई बैंक समूह हुन्। प्रतिवेदनअनुसार यस इन्स्योरेन्स कम्पनीमा पनि चन्द्रागिरी हिल्सले २,१५,६३४ रुपैयाँ बुझाएको देखिन्छ। यसले स्पष्ट देखाउँछ कि- चन्द्रागिरी हिल्सले गर्ने ‘खर्च’ घुमीफिरी चन्द्र ढकाल परिवारकै अर्को कम्पनीको ‘नाफा’ हो।
अझै रोचक कुरा त के छ भने एक सामान्य नागरिकमाथि अर्बौंको क्षति भएको भन्दै अभियोजन लगाएको चन्द्रागिरी हिल्स लिमिटेडले व्यवसायिक क्षतिको भुक्तानी गर्ने बीमा कम्पनीहरुसँग बीमा दावी नै गरेको छैन।
किन गरिएन क्षतिको बीमा दाबी ?
भवितव्यबाट हुने क्षतिपछि व्यवसायिक कम्पनीले सबैभन्दा पहिले इन्स्योरेन्स कम्पनीसँग ‘बीमा दाबी’गर्ने गर्छन्। तर, आफ्नै लगानी रहेको कम्पनीमा चन्द्रागिरी हिल्सको बीमा गराएका चन्द्र ढकालले भने क्षतिको मागदावी समेत नगरी एक सामान्य किराना पसलेसँग अर्बौं रुपैयाँ माग गरेका छन्। यसबाट पनि ढकाल समूहको नियत अझै प्रष्ट हन्छ।
चन्द्रागिरी हिल्सले क्षति भएको भनिएको १ अर्ब ६४ करोडको दाबी आईजीआई प्रुडेन्सियल र आईएमइ इन्स्योरेन्ससँग गरेको भए आफ्नै कम्पनीहरुको नाफा घट्ने भएकाले परिवारको सम्पत्ति जोगाउन तथा कम्पनीको वित्तीय अवस्था स्वस्थ देखाउनकै लागि पनि बीमा दावी नगरी एक विपन्न नागरिकलाई ‘टार्गेट’ बनाइएको सजिलै बुझ्न सकिन्छ। आफूले आगजनी गर्दै नगरेको र केवल एउटा सिसा मात्र फुटाएको भनी बयान दिँदादिँदै तामाङमाथि अर्बौंको विगो थोपर्नुलाई ढकाल समूहको ‘कर्पोरेट चतुर्याइँ का रुपमा हेरिएको छ। जबकी चन्द्रागिरी हिल्समा ढकाल परिवार र साझेदारहरूकै मजबुत पकड छ।
बार्षिक प्रतिवेदनअनुसार पनिचन्द्रागिरी हिल्सले ग्लोबल आईएमi बैंक,आईएमइ मोटर्स, र आईएमइ ट्राभल्स लगायतका १० वटा भन्दा बढी भगिनी कम्पनीहरूसँग चन्द्रागिरीले करोडौँको ‘अन्तर-कर्पोरेट’ कारोबार गरिरहेको छ। यसले चन्द्रागिरी हिल्स केवल धार्मिक एवम् पर्यटकीय केन्द्र मात्र नभई ढकाल समूहको ‘पैसा घुमाउने’सुरक्षित थलो हो भने बिषयले थप बलियो बनाएको छ।
ऋणभन्दा बढी क्षतिपूर्ति माग
आ.व. २०८१/८२) मा सार्वजनिक प्रतिवेदनमा चन्द्रागिरी हिल्सले कम्पनीका भौतिक संरचना, जग्गा र केबलकारका मेसिनहरू समेत धितो राखी प्रभु बैंक लगायतका विभिन्न बैंकहरूबाट १ अर्ब ४० करोड ६५ लाख २२ हजार २ सय ३७ रुपैयाँ भन्दा बढी दीर्घकालीन ऋण लिएको छ। जसवापत कम्पनीले सन् २०२५ मा मात्रै झण्डै २९ करोड १० लाख रुपैयाँ किस्ता तिर्नुपर्ने दायित्व देखिएको छ। प्रतिवेदनअनुसार १६ जुलाई २०२५ सम्ममा चन्द्रागिरी हिल्स आफैँ १ अर्ब ४० करोड रुपैयाँ ऋणमा छ।
गजबको कुरा त के छ भने १ अर्ब ४० करोड ऋणमा रहेको कम्पनीले ऋण रकम भन्दा पनि २४ करोडबढी रकम त एक सामान्य नागरिक धर्मसिंह तामाङसँग क्षतिपूर्तिको रूपमा मागिरहेको छ।
भन्दा बढी रकम (१.६४ अर्ब) त एकजना सामान्य नागरिक धर्मसिंह तामाङसँग क्षतिपूर्तिको रूपमा मागिरहेको छ। यसले पनि ढकालको चतुर्याइँसँगै कम्पनीको वित्तीय नाजुकता छोप्न गरिएको ‘कर्पोरेट राजनीति’ छताछुल्ल बनाईदिएको छ।
अब प्रश्न उठछ- यदि कम्पनीमा वास्तविक क्षति भएको हो बीमा दावी किन गरिएन ? क्षति भएकै थिएन भने आन्दोलनको नाजायज फाइदा उठाउँदै किन सर्वसाधारणमाथि ऋणको दायित्व थोपर्ने प्रपन्च गरियो ? बीमा गरेकै छैन भने बैंकले ऋण कसरी दियो अनि प्रतिवेदनमा बीमा शुल्क तिरेको खर्च किन देखाईयो ?









