तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब अनुदान

काठमाडौं। नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरियाले १ अर्ब ८१ करोड रुपैयाँ (१ करोड २० लाख अमेरिकी डलर) अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

यससम्बन्धी परियोजना कार्यान्वयनका लागि कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कृषि, वन तथा वातावरण मन्त्रालयबीच सम्झौता भएको छ।

सम्झौतामा कोइका नेपालका कन्ट्री डाइरेक्टर मुहेअन कोङ र मन्त्रालयका सहसचिव हरिबहादुर केसीले हस्ताक्षर गरेका छन्।

सन् २०२६ देखि २०३१ सम्म सञ्चालन हुने ६ वर्षे परियोजना लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा कार्यान्वयन गरिनेछ।

मन्त्रालयका अनुसार परियोजनाले जलवायुमैत्री कृषि प्रविधि, गुणस्तरीय धानको बिउ प्रणाली, बाली कटानीपछिको व्यवस्थापन तथा बजार पहुँच विस्तारमार्फत धान उत्पादन बढाई खाद्य सुरक्षा सुदृढ गर्ने लक्ष्य राखेको छ।

परियोजना कृषि मन्त्रालय तथा सम्बन्धित प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालन हुनेछ।

यसमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान (इरी) को प्राविधिक सहयोग रहने जनाइएको छ।

मन्त्रालयका अनुसार परियोजनाले जलवायु परिवर्तनको असरअनुकूल धानका सुधारिएका जातको विकास र विस्तारमा विशेष जोड दिनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *