काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक अन्य कुनै पनि भुक्तानीका रसिद वा कागजात विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट पारेको छ।
वैदेशिक रोजगार विभागले चैत २३ गते जारी गरेको सूचनाले श्रमिकहरूबीच अन्योल सिर्जना गरेको भन्दै अध्यागमनले आइतबार उक्त विषयमा प्रष्टिकरण दिएको हो। यसअघि वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्दा श्रमिकहरूले रसिदलगायतका कागजात पेस गर्नुपर्ने उल्लेख गरेको थियो।
अध्यागमन विभागले भनेको छ—वैदेशिक रोजगार विभागबाट जारी श्रम स्वीकृति र राहदानीजस्ता न्यूनतम आधारभूत कागजातबाहेक अन्य कुनै बिल वा रसिद अध्यागमनमा देखाउन आवश्यक छैन। “नेपाली श्रमिकहरूले विदेश प्रस्थान गर्दा थप कागजात पेस गर्नुपर्ने व्यवस्था छैन,” विभागको सूचनामा उल्लेख छ।
साथै, विभागले विदेश यात्रा गर्ने नागरिकलाई कुनै भ्रममा नपर्न आग्रह गर्दै गन्तव्य मुलुक, यात्रा प्रक्रिया र आवश्यक कागजातबारे पूर्ण जानकारी लिएर निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ।
‘भिजिट भिसा’मार्फत विदेश जाने नेपाली नागरिकका हकमा भने कम्तीमा ६ महिना वैधता भएको राहदानी, गन्तव्यसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणासहित यात्रा गर्न पाउने व्यवस्था यथावत रहेको विभागले जनाएको छ।






