काठमाडौँ — चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकमा घरजग्गा कारोबारबाट करिब ३१ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनदेखि फागुन मसान्तसम्म ३१ अर्ब १२ करोड रुपैयाँ राजस्व उठेको हो।
विभागका प्रवक्ता हरिप्रसाद पन्तका अनुसार सो अवधिमा सबैभन्दा बढी राजस्व पुसमा ५ अर्ब १७ करोड रुपैयाँ संकलन भएको छ भने सबैभन्दा कम कात्तिकमा २ अर्ब ७५ करोड रुपैयाँ उठेको छ।
असोज र कात्तिकमा राजस्व तीन अर्बभन्दा तल रहँदा साउन र भदौमा चार अर्बभन्दा कम संकलन भएको विभागले जनाएको छ।
मंसिरदेखि घरजग्गा कारोबार बढेसँगै राजस्वमा सुधार देखिएको छ। मंसिरमा ४ अर्ब ८४ करोड पुगेको राजस्व पुसमा बढेर ५ अर्ब नाघेको थियो भने माघमा पनि ५ अर्ब हाराहारीमा संकलन भएको छ। फागुनमा भने फेरि घटेर ४ अर्ब १४ करोडमा सीमित भएको छ।
विगतमा घरजग्गा कारोबार उच्च हुँदा राजस्व पनि उल्लेख्य संकलन हुने गरेको थियो। तर, कोभिडपछिको आर्थिक सुस्तीका कारण कारोबार घट्दा राजस्वमा पनि प्रभाव परेको विभागले जनाएको छ।
प्रवक्ता पन्तका अनुसार समग्र अर्थतन्त्रको सुस्तताले घरजग्गा कारोबार प्रभावित भएको छ।
साथै, भू–उपयोग नीतिअनुसार स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा कित्ताकाटमा समस्या देखिएको र यसले पनि कारोबारमा असर पारेको उनले बताए।






