काठमाडौँ — कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच शिष्टाचार भेटवार्ता भएको छ।
कृषि मन्त्रालयमा भएको भेटमा द्विपक्षीय कृषि सहकार्य, विशेषगरी रासायनिक मल आपूर्तिसम्बन्धी विषयमा छलफल भएको हो।
भेटमा मन्त्री चौधरीले नेपालमा मल आपूर्तिमा सहयोग गरेकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै ‘सरकार–सरकार’ (जी–टु–जी) सम्झौताको म्याद सकिएको विषय उठाएकी थिइन्।
उनले नयाँ सम्झौता छिटो टुंग्याउन भारतीय पक्षसँग सहजीकरणको आग्रह गरिन्।
मध्यपूर्वमा देखिएको संकटका कारण मल आपूर्ति प्रभावित हुन सक्ने उल्लेख गर्दै उनले आगामी धान सिजनलाई लक्षित गरी भारतबाट १ लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डिएपी जी–टु–जी प्रणालीमार्फत आयात सहज बनाइदिन आग्रह गरिन्।
भेटमा राजदूत श्रीवास्तवले अरुण जलविद्युत आयोजनासँग सम्बन्धित वनसम्बन्धी विषय र सिलगुढीदेखि झापासम्म प्रस्तावित दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रियामा सहयोग आवश्यक रहेको जानकारी गराएका थिए।
यसका साथै, कृषि स्टार्टअपमार्फत अनुभव आदान–प्रदान, आधुनिक प्रविधिमा सहकार्य, उखुको उन्नत बीउ अनुदान तथा सीमाक्षेत्रमा पशुजन्य रोग नियन्त्रणका लागि संस्थागत सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।






