बीमाको पहुँच ५० प्रतिशत जनसंख्यामा पुग्यो

काठमाडौं। नेपाल बीमा प्राधिकरणले नववर्ष २०८३ को अवसरमा शुभकामना आदान(प्रदान कार्यक्रम आयोजना गरेको छ।

कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बीमा क्षेत्रको उपलब्धि र आगामी चुनौतीबारे छलफल गरिएको हो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्राधिकरणकी निर्देशक पूजन ढुङ्गेल अधिकारीले देशको झण्डै ५० प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको जानकारी दिए।

बीमा क्षेत्रका अधिकांश परिसूचकहरू सकारात्मक रहेको उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गरी यसलाई अझ समावेशी बनाउनुपर्नेमा जोड दिए।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा कम्पनीहरूलाई ऐन, नियम र निर्देशनको पूर्ण पालना गर्दै व्यवसायको गरिमा उच्च राख्न निर्देशन दिए।

प्राधिकरणले कसैप्रति आग्रह वा पूर्वाग्रह नराखी निष्पक्ष रूपमा काम गरिरहेको छ। बीमा क्षेत्रमा सुशासन कायम गर्न र नवीनतम प्रविधि अवलम्बन गर्न आवश्यक सहजीकरणका लागि प्राधिकरण सदैव तयार छ।

बीमाको पहुँच र गरिमा बढाउन सबै सरोकारवालाहरू मिलेर अगाडि बढ्नुपर्छ।

सोही अवसरमा विद्यार्थीहरूलाई लक्षित गरी तयार पारिएको जानकारीमूलक पुस्तक ‘बीमाको चित्रकथाको सङ्गालो’ सार्वजनिक गरियो। विद्यालय तहदेखि नै बीमाबारे सचेतना फैलाउने उद्देश्यले प्राधिकरणले यो पुस्तक प्रकाशन गरेको हो।

कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र नेपाल लघु जीवन बीमक संघका अध्यक्षहरूका साथै विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन उपनिर्देशक पूर्ण बहादुर थापाले गरेका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *