शेखर कोइरालाको निर्वाचन खर्चको विवरण सार्वजनिक, २२ लाख ३१ हजार

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्।

कोइरालाले निर्वाचनमा २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेको विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमा बुझाएका हुन्।

कोइरालाले चुनावमा सबैभन्दा ठूलो रकम प्रचारप्रसार सामग्री छपाइमा खर्च भएको उल्लेख गरेका छन्। मतदाता नामावली, नमुना मतपत्र, पर्चा, पम्पलेट, स्थानीय घोषणापत्र, झण्डा र फ्लेक्सलगायतका सामग्री छपाइमा १६ लाख ४६ हजार ६ सय ९ रुपैयाँ १९ पैसा खर्च भएको देखाइएको छ।

निर्वाचन प्रचारप्रसारका लागि १ लाख १३ हजार, गाडीको इन्धनमा १ लाख १६ हजार ३ सय १९ रुपैयाँ ५० पैसा र स्टेसनरी सामग्रीमा १ लाख ४ हजार ५०० खर्च भएको विवरणमा उल्लेख छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिता बमोजिम कोइरालाको तर्फबाट बिहीबार आयोगमा उक्त खर्च विवरण बुझाइएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *