१७ मत पाएका उम्मेदवारको चुनावी खर्च: १० प्लेट चाउमिन, २० प्लेट मःम

सुनसरी। निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका मितेरी पार्टी नेपालका डा. रक्षकुमार राईले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।

निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार उनले चुनाव प्रचारका क्रममा मुख्य:त चाउमिन, मःम र पेय पदार्थमा खर्च गरेका छन्। यस क्षेत्रबाट जम्मा १७ मत प्राप्त गरेका राईले भड्किलो प्रचारप्रसार नगरी जोगाएको पैसा युवा रोजगारीमा लगाउने घोषणा समेत गरेका छन्।

बिलसहित आयोगमा पेस गरिएको भरपाईअनुसार उनको कुल चुनावी खर्च ४० हजार ७४० रुपैयाँ भएको छ। खर्चको शीर्षकमा १० प्लेट चिकेन चाउमिन, १२ प्लेट पोर्क झोल मःम, २० प्लेट चिकेन स्टिम मःम र ६ प्लेट पोर्क बारबिक्यू खाएको उल्लेख छ।

यसका साथै, ५ बोतल कोक, १५ बोतल ‘एक्सट्रिम’, १० बोतल बदाम जुस र १० बोतल पानीको खर्च विवरणमा समावेश छ। खाजाबाहेक सय छाक सादा खानामा १५ हजार र ५० लिटर पेट्रोलबापत ८ हजार २५० रुपैयाँ खर्च भएको उनले जानकारी दिएका छन्।

आयोगमा पेस गरिएको फारमको अन्त्यमा राईले भड्किलो चुनाव खर्च नगर्नुको कारणसमेत खुलाएका छन्। भौतिक प्रचार सामग्रीमा हुने अनावश्यक खर्च कटौती गरेर उक्त रकम युवालाई रोजगारी दिलाउन प्रयोग गर्ने उनले बताएका छन्।

खर्च विवरणको नोटमा उनले लेखेका छन्, ‘यो पटकको प्रतिनिधि सभा निर्वाचनमा मैले कुनै पनि खालको भौतिक प्रचारप्रसार सामग्री प्रयोग नगरेको र अनावश्यक चुनावी प्रचारमा हुने खर्च युवा रोजगारीको लागि पहल गर्ने हुँदा माथि उल्लिखित खर्च बिलसहित पेस गर्दछु।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *