रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेजविरुद्धको रिटमा निर्वाचन आयोगलाई कारण देखाऊ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार किशोरी साह कमलको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार सो आदेश जारी गरेको हो । निवेदक किशोरी साह कमलले निर्वाचन आयोग समेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

अदालतको आदेशमा उल्लेख भए अनुसार, निर्वाचन आयोगले यसअघि नै २०८२ फागुन २४ को पत्रमार्फत सम्बन्धित निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नू–नगराउनू भनी निर्देशन दिइसकेको देखिएकाले हाललाई मत परिणाम घोषणा स्थगनकै अवस्थामा रहेको छ ।

उम्मेदवारी खारेजीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरे तापनि, अदालतले विषयवस्तुको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै दुवै पक्षको कुरा सुन्नु उपयुक्त हुने ठहर्‍याएको छ । आदेशमा भनिएको छ, ‘विपक्षी आयोगको मिति २०८२–११–१८ को निवेदकको उम्मेदवारी खारेज गर्ने सम्बन्धी निर्णय सहितको फाइल लिई आउनू भनी विपक्षीहरूलाई यथाशीघ्र जानकारी गराई नियमानुसार पेस गर्नू ।’

अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न अदालतले आगामी २०८२ फागुन २९ गतेको पेशी तोकेको छ । सो दिन निर्वाचन आयोगका प्रतिनिधि र निवेदकबिच छलफल भएपछि मात्र अन्तरिम आदेशबारे निर्णय हुनेछ । निर्वाचन आयोगले फागुन १८ गते किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि उनी न्याय माग्दै सर्वोच्च पुगेका हुन् ।

ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा पनि कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमै उल्लेख छ । निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो ।

धनुषा-१ मा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन् । यो निर्वाचन क्षेत्रमा मतगणना सम्पन्न भइसकेको छ तर अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *