काठमाडौँ — जेनजी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले करिब पाँच महिनाको अनुसन्धानपछि आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री **सुशीला कार्की**लाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन्। प्रतिवेदन बुझाएपछि आयोगका सदस्य शर्माले घटनामा गल्ती गर्नेहरूलाई कारबाही गर्न सरकारलाई सिफारिस गरिएको बताए।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग उनले भने, “जसले गल्ती गरेको छ, उसलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो सिफारिस छ।” उनका अनुसार प्रतिवेदन करिब ९ सय पृष्ठको छ र त्यससँग सम्बन्धित अनुसूचीहरू पनि समावेश गरिएको छ।
आयोगले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाबारे छुट्टाछुट्टै अध्ययन गरी राय र सुझाव दिएको जनाएको छ।
भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घटनास्थलमै तथा उपचारका क्रममा २१ जनाको मृत्यु भएको थियो। उक्त घटनाका लागि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र जिल्ला सुरक्षा समिति काठमाडौँका तत्कालीन अध्यक्षलाई जिम्मेवार ठहर गर्दै कारबाही गर्न सुझाव दिएको छ।
आयोग स्रोतका अनुसार केन्द्रीय तहमा तत्कालीन प्रधानमन्त्री र जिल्ला तहमा सुरक्षा समितिका प्रमुखलाई जिम्मेवार ठहर गर्दै फौजदारी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरिएको छ। आयोगको सुझाव कार्यान्वयन भएमा तत्कालीन प्रधानमन्त्री ओली तथा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल विरुद्ध मुलुकी अपराध संहिता–२०७४ अन्तर्गत मुद्दा चल्न सक्नेछ।
प्रदर्शनका क्रममा गोली चलाउने आदेश दिएको आरोप रिजालमाथि यसअघि पनि लाग्दै आएको थियो। त्यसबेला गृह मन्त्रालयको नेतृत्व **रमेश लेखक**ले गरेका थिए भने गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ थिए। आयोग स्रोतका अनुसार तत्कालीन गृहमन्त्री लेखकलाई पनि कानुनी दायरामा ल्याउन सिफारिस गरिएको छ।
त्यस्तै, भदौ २४ गते भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूमाथि समेत अभियोजन गर्न आयोगले सुझाव दिएको छ। आयोगले स्क्रिनिङ तथा थप छानबिनपछि दोषी ठहरिएका व्यक्तिहरूविरुद्ध फौजदारी मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको जनाएको छ।
जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच मङ्सिर २४ गते १० बुँदे सम्झौता भएको थियो। उक्त सम्झौतामा अत्यधिक बल प्रयोग गर्ने र हिंसात्मक घटनामा संलग्न व्यक्तिहरूबारे निष्पक्ष छानबिन गरी फौजदारी कानुनअनुसार कारबाही सिफारिस गर्न आयोगको कार्यादेश विस्तार गरिएको थियो।
जेनजी प्रदर्शनका क्रममा कुल ७६ जनाको मृत्यु भएको आयोगले उल्लेख गरेको छ। प्रदर्शनकारीतर्फ बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योगबहादुर श्रेष्ठ, माधव सारुमगर, विमल बाबु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवासकुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिलनारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चङ्खे’ रहेका छन्। कैदीबन्दी तथा बालबन्दीतर्फ थप १० जनाको मृत्यु भएको आयोगले जनाएको छ।






