मध्यपूर्व तनावले तेल मूल्य १०० डलर नाघ्यो

लन्डन — मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०२२ यताकै उच्च स्तरमा पुगेको छ।

सोमबार एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट क्रुडको मूल्य १५.५ प्रतिशतले बढेर प्रतिब्यारल १०७.१६ अमेरिकी डलर पुगेको छ।

त्यस्तै नाइमेक्स लाइट स्वीट क्रुडको मूल्य पनि १७ प्रतिशतभन्दा बढीले बढेर १०६.७७ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिका र इजरायलले इरानमाथि गरेको हवाई आक्रमण तथा तेल भण्डारण केन्द्रहरू लक्षित आक्रमणपछि ऊर्जा आपूर्ति प्रभावित हुने चिन्ता बढेपछि तेलको मूल्यमा तीव्र उछाल आएको हो।

विशेषगरी विश्वका प्रमुख जलमार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुज अवरुद्ध हुन सक्ने आशंकाले बजार झन् अस्थिर बनेको विश्लेषकहरू बताउँछन्।

विश्लेषणअनुसार उक्त जलमार्ग लामो समय बन्द भए तेलको मूल्य प्रतिब्यारल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

तेलको मूल्य वृद्धिको प्रभाव ऊर्जा बजारसँगै विश्व सेयर बजारमा पनि देखिएको छ। सोमबार एसिया–प्रशान्त क्षेत्रका सेयर बजारहरूमा गिरावट आएको छ।

जापानको निक्केई २२५ सूचक ५ प्रतिशतभन्दा बढीले घट्दा अष्ट्रेलियाको एएसएक्स २०० सूचक पनि करिब ३.५ प्रतिशतले झरेको छ।

तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थ, हवाई इन्धन र रासायनिक मलजस्ता वस्तुको लागत बढ्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।

साथै बढ्दो ऊर्जा मूल्यले विश्व अर्थतन्त्रमा मुद्रास्फीति थप बढाउने जोखिम पनि देखिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *