एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं —एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ।

कम्पनीको आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिनेछ।

६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत् आयोजना प्रवर्द्धक कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ४ लाख ७० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा ४ करोड ७० लाख रुपैयाँबराबरको सेयर स्थानीय बासिन्दाका लागि छुट्याएको हो।

निष्कासित सेयरमध्ये ५० प्रतिशत अर्थात् २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–७ र ८ का बासिन्दालाई बाँडफाँट गरिनेछ।

यस्तै ३० प्रतिशत अर्थात् १ लाख ४१ हजार कित्ता सोलुखुम्बुको लिखुपिके गाउँपालिका–२ र रामेछापको उमाकुण्ड गाउँपालिका–३ का बासिन्दालाई दिइनेछ। बाँकी २० प्रतिशत अर्थात् ९४ हजार कित्ता रामेछापको उमाकुण्ड गाउँपालिका–२ र गोकुलगंगा गाउँपालिका–१ का स्थानीयका लागि छुट्याइएको छ।

सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

बुकु खोला जलविद्युत् आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २२ करोड ८६ लाख रुपैयाँ अनुमान गरिएको छ।

आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष र डिस्काउन्टमा १६.४३ वर्ष रहेको कम्पनीले जनाएको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

स्थानीय बासिन्दाले आयोजना कार्यालय ओखलढुंगा तथा लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *