ओस्लो — नर्वेको राजधानी ओस्लोस्थित अमेरिकी दूतावासको परिसर नजिक आइतबार बिहान भएको विस्फोटमा भवनमा सामान्य क्षति पुगेको छ भने मानवीय हताहती भएको छैन।
स्थानीय समयअनुसार बिहान करिब १ बजे दूतावासको सार्वजनिक प्रवेशद्वार नजिकै विस्फोट भएको नर्वेली प्रहरीले जनाएको छ। विस्फोटपछि ठूलो संख्यामा सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको थियो।
नर्वेको सार्वजनिक प्रसारण संस्था एनआरकेसँग कुरा गर्दै प्रहरीको संयुक्त अनुसन्धान तथा गुप्तचरी इकाइका प्रमुख फ्रोड लार्सनले घटनालाई प्रारम्भिक रूपमा सम्भावित ‘आतंकवादी कार्य’को रूपमा अनुसन्धान गरिरहेको बताएका छन्।
यद्यपि अन्य सम्भावनालाई पनि खुला राखेर अनुसन्धान अघि बढाइएको उनले बताए।
विस्फोटपछि दूतावास भवनको कन्सुलर खण्ड बाहिर सिसा फुटेको, ढोकामा क्षति पुगेको र भुइँमा कालो दाग देखिएको तस्वीरहरू सार्वजनिक भएका छन्।
प्रहरीले दूतावासबाट करिब ७ किलोमिटर टाढा मोर्गेडाल्सवेगेन क्षेत्रमा समेत खानतलासी गरेको छ।
नर्वे सरकारले घटनाको निन्दा गर्दै कूटनीतिक नियोगहरूको सुरक्षा आफ्नो लागि अत्यन्त महत्त्वपूर्ण रहेको जनाएको छ।
नर्वेका विदेशमन्त्री एस्पेन बार्थ इडेले अमेरिकी दूतावाससँग सम्पर्क गरी सुरक्षाको प्रत्याभूति दिएका छन्।
अमेरिकी विदेश मन्त्रालयले पनि घटनाबारे जानकारी लिएको र स्थानीय अधिकारीहरूसँग मिलेर अनुसन्धान भइरहेको जनाएको छ।
हालसम्म कुनै समूहले विस्फोटको जिम्मेवारी लिएको छैन।







