काठमाडौं । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता उत्साहित देखिएको जनाएको छ।
संस्थाले मंगलबार सार्वजनिक गरेको निर्वाचनपूर्व प्रतिवेदनमा समग्र वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय रूपमा सन्तोषजनक रहेको निष्कर्ष उल्लेख गरिएको छ।
स्थलगत अवलोकन र कल सेन्टरमार्फत प्राप्त सूचनाका आधारमा तयार प्रतिवेदनमा निर्वाचन तयारी तीव्र गतिमा अघि बढेको, कर्मचारीहरू मतदान केन्द्रमा पुगिसकेको तथा सुरक्षा संयन्त्र संवेदनशीलताका साथ तैनाथ रहेको जनाइएको छ।
जियोकका महासचिव कृष्णमान प्रधानका अनुसार राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, प्रेस तथा प्रशासनिक अधिकारीसँगको भेटवार्तापछि प्रतिवेदन तयार गरिएको हो।
जियोकका राष्ट्रिय पर्यवेक्षक प्रा. चिरञ्जीवी खनालले अघिल्ला निर्वाचनजस्तो ठूला आमसभा र जुलुसभन्दा यसपटक दलहरूले गाउँटोलमै पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएको बताए।
उनले दलहरू निर्वाचनप्रति प्रतिबद्ध र मतदाता सहभागिताप्रति सकारात्मक देखिएको उल्लेख गरे।
राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारीले मतदान केन्द्रका लागि आवश्यक सामग्री र कर्मचारी खटाइ योजनाअनुसार भइरहेको जानकारी दिए।
उनका अनुसार प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा संयन्त्र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा विश्वस्त देखिएको छ।
अर्का पर्यवेक्षक गणेशमान प्रधान र डा. मिनेन श्रेष्ठले अधिकांश मतदान केन्द्र विद्यालय तथा वडा कार्यालय भवनमा रहेकाले मतदातामैत्री वातावरण रहेको बताए।
जियोकले सातै प्रदेशका ३६ जिल्लाका २ सय ५० स्थानीय तहमा करिब ४ सय पर्यवेक्षक खटाएको जनाएको छ।
प्रतिवेदनमा जिल्लास्तरमा एकीकृत सुरक्षा योजना कार्यान्वयन सन्तोषजनक रहेको, दलहरूबीच प्रतिस्पर्धा तीव्र भए पनि समग्र वातावरण शान्तिपूर्ण रहेको उल्लेख छ।
उम्मेदवारहरूको घरदैलो कार्यक्रम र प्रचारप्रसारसमेत शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको जियोकले जनाएको छ।






