पर्यटन विभागमा ‘असुली काण्ड’: शाखा अधिकृत अर्यालमाथि गम्भीर आरोप

काठमाडौं । पर्यटन विभागका शाखा अधिकृत सरोज अर्यालमाथि होटल तथा क्यासिनो व्यवसायीसँग सम्बन्धित कामकाजमा अनियमितता र अवैध असुली गरेको आरोप उठेको छ।

विभागभित्रका कर्मचारी स्रोत तथा केही व्यवसायीले दिएको जानकारीका आधारमा उनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरिएको हो।

स्रोतका अनुसार अर्यालले होटल शाखामा प्रभावशाली भूमिका निर्वाह गर्दै व्यवसायीलाई कारबाहीको डर देखाएर रकम असुल्ने गरेको आरोप छ। एक होटल व्यवसायीले नाम नखुलाउने सर्तमा भने, “कारबाहीको त्रास देखाएर रकम मागिन्छ, रकम बुझाएपछि मात्र प्रक्रिया सहज बनाइन्छ।”

व्यवसायीहरूका अनुसार असुली गरिएको रकम ‘माथि’ सम्म पुर्‍याउनुपर्ने भन्दै दबाब दिने गरिएको बताइन्छ। विभागका महानिर्देशक रामकृष्ण लामिछानेसँग अर्यालको निकट सम्बन्ध रहेको र सोही कारण उनलाई संरक्षण प्राप्त भएको आरोपसमेत उठेको छ। विभागभित्र दुवै नेपाली कांग्रेस निकट कर्मचारी भएको चर्चा पनि चलिरहेको स्रोतको दाबी छ।

अर्याल बारम्बार विदेश भ्रमणमा जाने, विभागभित्र अस्वाभाविक प्रभाव कायम गर्ने तथा कर्मचारी युनियनमार्फत निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको आरोप पनि सार्वजनिक भएको छ। विभागका केही कर्मचारीहरू यस्ता गतिविधिप्रति असन्तुष्ट रहेको बताउँछन्।

उनीमाथि उठाइएका आरोपबारे प्रतिक्रिया लिन खोज्दा पर्यटन विभाग, महानिर्देशक लामिछाने सम्पर्कमा आउन चाहेनन् भने अर्यालले यस बिषयमा कुनै सत्यता नभएको बताए।

सरोकारवालाहरूले यी आरोपहरूको निष्पक्ष छानबिनको माग गरेका छन्। आरोप पुष्टि भए पर्यटन क्षेत्रमा गम्भीर भ्रष्टाचारको संरचना उजागर हुने देखिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *