कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकबाट सम्भव सिरोहियाले दिए राजीनामा

काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले राजीनामा दिएका छन् । उनले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएको कान्तिपुर मिडिया ग्रुपका सबै कर्मचारीलाई सम्बोधन गरेर पठाएको सन्देशमा उल्लेख छ ।

सिरोहियाले कान्तिपुरले पछिल्लो समय गरिरहेको रिपोर्टिङ –विशेष गरी गृहमन्त्री सुधन गुरुङमाथि लेखिएका समाचार– मा आफ्नो गम्भीर असहमति रहेको राजीनामामा उल्लेख गरेका छन् । उनले आरोपहरूलाई सनसनीपूर्ण बनाउँदै प्रस्तुत गरिएको भन्दै लेखेका छन्, ‘मैले विश्वास नगरेको पत्रकारितासँग आफ्नो नाम जोडेर रूपान्तरणको नेतृत्व गर्न सक्दिनँ ।’

कान्तिपुरले अनुसन्धानकारी निकायको स्रोतबाट गृहमन्त्री गुरुङको शंकास्पद कारोबारका विवरण प्राप्त गरेर सार्वजनिक गरेको थियो । जसमा त्यतिन्जेलसम्म ती विवरणमा उल्लेख तथ्य र अनुत्तरित प्रश्न समेटेको थियो । तर सिरोहियाले नयाँ सरकारले काम गर्न नपाउँदै कान्तिपुरले प्रमाणित भइनसकेका आरोप लगाएर कमजोर बनाएको राजीनामामा उल्लेख गरेका छन् ।

सिरोहियाले बिहीबार बिहान कान्तिपुर टेलिभिजनले सामाजिक सञ्जालमा पोष्ट गरेका गृहमन्त्री गुरुङबारेका समाचारका लिंक र त्यससम्बन्धी तस्बिरका स्क्रिनसट फेसबुक र ट्विटरमा राख्दै लेखेका थिए, ‘यो मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन।’

सिरोहिया १ असोज २०८० मा केएमजीको प्रबन्ध निर्देशक नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *